
धनगढी: कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुरमा निसर्ग हस्पिटल पाँचौं भजहर कप फुटबल प्रतियोगिता सुरु भएको छ। थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको निसर्ग हस्पिटल भजहर कपको पाँचौं संस्करण सुरु भएको हो।
युवा जनहित क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको वडा नम्बर ८ का वडाध्यक्ष तारा मल कठरियाले उदघाटन गरे। पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भजनी नगरपािलका वडा नम्बर ५ स्तरीय क्लब विजयी भएको छ।


पहिचान युवा क्लब सिसैयालाई २–१ ले हराउँदै भजनी क्वाटरफाइनलमा प्रवेश गरेको हो। वैशाख २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ।
प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए।
थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडि बढाउनका लागि गरिँदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ। त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ।
