
धनगढी: भारत भ्रमणमा रहेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दिल्लीका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गरेका छन्।
औपचारिक भ्रमणमा रहेका मुख्यमन्त्री शाहले बुधबार यमुना नदीको पश्चिमी किनार राजघाटमा महात्मागान्धी समाधिस्थलमा माल्यारोपण तथा श्रद्धाञ्जली व्यक्त गरे।

त्यसैगरी बुधबार नै मुख्यमन्त्री शाहले भारतका लागि नेपाली राजदुत शंकर शर्मासँग दुतावासमा स्वागत भेटघाटमा सरिक भए।

पूर्वनिर्धारित कार्यतालिका अनुसार स्वामी विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनसँग अन्तरक्रियामा सहभागी भएका मुख्यमन्त्री शाहले उद्योगपतिसँगको छलफलमा प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनबारे जानकारी गराए।
उनले दिल्लीको मेट्रो रेल वे स्टेसन र लोक सभा र राज्य सभाको समेत अवलोकन गरे। भारत सरकारको निमन्त्रणामा वैशाख १६ गते मुख्यमन्त्री शाह नेतृत्वको उच्चस्तरीय सरकारी टोली एक साताको लागि त्यसतर्फ प्रस्थान गरको थियो। उक्त टोली वैशाख २२ गते स्वदेश फर्किने कार्यतालिका छ।
