Skin_Hospital_Dhn

श्रमिक दिवस : स्वास्थ्य कार्यालय कैलालीद्वारा मजदुरको स्वास्थ्य परीक्षण

धनगढी: कैलालीको गोदावरी नगरपालिका–३ स्थित उग्रतारा इँटा टायल उद्योगमा रहेका मजदुरहरूको स्वास्थ्य परीक्षण गरिएको छ। १३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा स्वास्थ्य कार्यालय कैलालीले उनीहरूको स्वास्थ्य परीक्षण गरेको हो।

यसका साथै स्वास्थ्य कार्यालयले स्वास्थ्य सचेतना कार्यक्रम पनि सम्पन्न गरेको छ। उक्त उद्योगमा रहेका मजदुरहरूको मधुमेह, ब्लड प्रेसर नाप, तौल मापन, पिसावमा प्रोटिन र सुगर जाँच, आयोडिन परीक्षण र शंकास्पद औलो परीक्षण, स्वास्थ्य परामर्श, अति आवश्यक भएकालाई औषधिको व्यवस्थापन गरिएको थियो।

कार्यक्रममा व्यवस्थापनका लागि तारा इँटा तथा टायल उद्योग गोदावरी–३ मालाखेतीको रहेको थियो। श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्।

यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन्। सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ।

उक्त आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो। मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्‍याे।

पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। नेपालमा १९९३ सालमा विराटनगर जुट मिल उद्योगको स्थापना भएपश्चात २००३ सालमा कांग्रेसको नेतृत्वमा आफ्नो हकहित र सेवा सुविधाको माग राखेर विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो।

तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गर्‍याे। त्यतिबेला जननायक बीपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरिएको थियो।

नेपालमा प्रजातन्त्रको स्थापना अर्थात् २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलनलाई मान्ने गरिएको छ। २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ।

सम्बन्धित
Loading...