
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भारतका विदेश राज्यमन्त्री किर्ती बर्धन सिंहबीच भेटवार्ता भएको छ।
भारत सरकारको निमन्त्रणामा औपचारिक भ्रमणमा रहेका मुख्यमन्त्री शाहको विहीबार विदेश राज्यमन्त्री बर्धनले आयोजना गरेको दिवा भोज कार्यक्रममा भेटघाट भएको हो।


मुख्यमन्त्री शाह र विदेश राज्यमन्त्री सिंहबीच नेपाल-भारतबीचको वर्षौदेखिको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक रुपमा घनिष्ठ सम्बन्धका बारेमा कुराकानी भएको थियो। भेटमा मुख्यमन्त्री स्तरीय भारत भ्रमणले दुई देशबीचको सम्बन्ध प्रगाढ र अझ थप उचाईमा पग्ने विश्वास व्यक्त गरिएको थियो। सोही अवसरमा मुख्यमन्त्री शाहले भारत सरकारले प्रदेश सरकारलाई भ्रमणको निमन्त्रणा गरेकोमा भारत सरकारलाई धन्यवाद दिए।
भारतले नेपाललाई निरन्तर सहयोग गर्दै आइरहेको स्मरण गर्दै सुदूरपश्चिम प्रदेशको विकासमा समेत भारत सरकारले सहयोग गर्नेमा विश्वस्त रहेको र दार्चुलामा निर्माणाधीन पुल छिटोभन्दा छिटो निर्माण गर्ने, बैतडी र डडेल्धुरामा पुल निर्माण प्रक्रिया चाँडो सुरु गर्ने विषयमा कुराकानी भएको बताइन्छ। साथै तिकुनियाँ–खक्रौलासम्मको सडक छिटो सम्पन्न गर्ने विषयमा छलफल भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ।
सचिवालका अनुसार मुख्यमन्त्री शाह र भारतका विदेश राज्यमन्त्री बर्धनबीच नेपालमा आधुनिक कृषि क्षेत्रको विकासका सन्दर्भमा पनि कुनाकानी भएको थियो। साथै उर्जा क्षेत्रका बारेमा पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर जलविद्युत आयोजना, वेतन कर्णाली, फुकोट कर्णाली र मुगु कर्णालीको विषयमा कुराकानीसंगै सम्भावनाका विषयमा समेत छलफल भएको सचिवालयले जनाएको छ।
विहीबार नै मुख्यमन्त्री शाहले भारतको राजधानी नयाँदिल्ली स्थित प्रधानमन्त्री संग्राहलय, नेसनल स्किल डेभलपमेन्ट कर्पोरेसन कम्पनी र कृषि अनुसन्धान केन्द्रको अवलोकन भ्रमण गरेका छन् ।
