
काठमाडौं: भारतीय विदेश मन्त्रालयले उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको जानकारी पाउनेबित्तिकै उडिशा राज्य सरकारसँग निरन्तर सम्पर्क गरी घटनाबारे अनुसन्धान भइरहेको जनाएको हो।

उडिसा सरकारले पीडित परिवारलाई पूर्ण सहयोग प्रदान गरेकोसमेत उल्लेख छ। ‘सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई अत्यन्त गम्भीरताका साथ लिने बताएको छ। नेपाल सरकार, उडिशा राज्य सरकार र कीआईआइटी विश्वविद्यालय प्रशासनसँग निरन्तर समन्वयमा रही सूचनाको तत्काल आदानप्रदान र आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहेको पनि छ,’ विज्ञप्तिमा भनिएको छ।

बिहीबार साँझ कम्युटर साइन्समा प्रथम वर्ष अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेकी थिइन्। प्रिशा वीरगञ्जनिवासी हुन्। उनी होस्टलमै मृत फेला परेको र अहिले प्रहरीले छानबिन गरिरहेको उनले जानकारी दिए। उनी इन्टरनेसनल होस्टलमा बसिरहेकी थिइन्।
गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्। आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन्। कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन्।
विज्ञप्ति
