Skin_Hospital_Dhn

दार्चुलाका २० बर्षीय पुरुषमा कोरोना पुष्टि, सीमामा कडाइ

खलङ्गा ।
दार्चुलामा एक २० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सीमामा कडाइ गरिएको छ ।

भारतको चेन्नइबाट घर फर्किएका नौगाड गाउँपालिका–३ का पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । सिमानाका पुलघाटमा भारतबाट फर्किएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सूचना अधिकारी कार्कीका अनुसार कोरोना पुष्टि भएका उनलाई होम आइसोलेसनमा बस्ने गरी आजै घर पठाइएको छ । भारतमा कोरोना सङ्क्रमण बढ्न थालेको छ । भारतमा मजदुरी गरी घर फर्किनेहरूमा कोरोना सङ्क्रमण देखिन थालेको उहाँले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

नयाँ वर्ष विशु पर्व नजिक आउँदै गरेकाले भारतका विभिन्न ठाउँमा रहेका नेपाली पर्व मनाउन घर फर्किने क्रम बढ्दो छ । यसलाई ध्यानमा राख्दै कोरोना परीक्षण गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए । रासस

Loading...