
धनगढी: सुन्दर सुदूरपश्चिम यातायात प्रालिले स्तरीय एसीसहितको बस सेवा थप गर्ने अभियानलाई जारी राखेको छ। सार्वजनिक यातायातलाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित अगाडि बढेको प्रालीले देशका विभिन्न शहरलाई यातायातको माध्यमबाट जोड्ने काम गरिरहेको छ।
हाल ६१ जिल्लाका सडकसम्म प्रालिअन्तर्गतका बसहरुले यात्रुलाई सेवा प्रदान गरिरहेका छन्। धनगढी काठमाडौंदेखि देशका अन्य शहरहरुलाई स्तरीय एसीसहितको बसमार्फत जोड्न प्रालि सफल भएको छ। प्रालिले अन्य बस सेवा सरह नेपालकै उत्कृष्ट स्तरको बससम्म सञ्चालनमा ल्याइसकेको छ। कम्पनीसँग ४२ वर्षको अनुभव छ।

रुपान्तरित प्रालिभन्दा अगाडि समितिबाट सेवा प्रवाह हुँदै आइरहेको थियो। राज्यको नीति अनुसार २०७६ मा कम्पनी प्रालीमा रुपान्तरण भएर सो प्रालिले व्यवसायीलाई सेयर सदस्यका रूपमा जोडेर सेवा प्रदान गरिरहेको छ।
प्रालिअन्तर्गत हाल झण्डै साढे पाँच सय बस सञ्चालनमा रहेको अध्यक्ष पदमराज सापकोटाले जानकारी दिए। ‘हामीले पछिल्लो समय स्तरीय बस सेवा थप गर्ने अभियानलाई प्राथमिकता दिइरहेका छौं,’ उनले भने, ‘यात्रुले सर्वसुलभ भाडादरमा स्तरीय बसबाट सेवा लिन पाउने वातावरण बनाउन हामी सफल भइरहेका छौैं।’
व्यवसायीले स्तरीय बसमा लगानी बढाइरहेपनि सवारी गुड्ने सडकको अवस्था भने दयनीय रहेको बताउँदै उनले सार्वजनिक यातायात र सडक राज्यको प्राथमिकतामा कहिल्यै पर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्छन्। ‘सडकको दुर्दशा सबैलाई जानकारी नै छ। तरपनि हामीले स्तरीय बसमा लगानी बढाउने अभियान जारी राखेका छौं। आगामी दिनमा पनि स्तरीय बस सेवा सञ्चालनमा अभियानलाई निरन्तरता दिनेछौं।’
प्रालिले सबै प्रकारका यात्रुहरुलाई मध्यनजर गर्दै सेवा सञ्चालन गरिरहेको छ। सामान्य बसदेखि अति स्तरीय बसहरु सञ्चालनमा छन्। सोफा सिटमा बसेर यात्रुले यात्रा गर्न सक्ने वातावरण बनेको छ। पछिल्लो समय यात्रुहरुले आफ्नो चाहनाअनुसारको बस छनोट गरेर यात्रा गर्नसक्ने वातावरण बनेको अध्यक्ष सापकोटाले बताए।

आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुलाई स्तरीय सेवा प्रदान गर्न प्रालिका बसहरुले योगदान गरिरहेको अध्यक्ष सापकोटाले बताए। सो प्रालिले धनगढीलाई केन्द्रमा राखेर आसपासका जिल्लाहरुबाट समेत देशभरका विभिन्न शहर जोड्ने गरी बससेवा थप गरिरहेको छ। धनगढीलाई देशको राजधानी काठमाडौंसम्म जोड्ने ‘महेन्द्र राजमार्ग’को निर्माण अवस्थादेखि यातायातका साधनहरु सञ्चालन शुरुवातसँगै २०४० साल चैत्र १४ गते सुदूरपश्चिम यातायात ब्यवसायी संघको स्थापना भएको थियो। २०७६ साल जेठ १९ गते संग रुपान्तरित भई सुन्दर सुदूरपश्चिम यातायात प्रालिमा दर्ता भएको हो।
समयको माग एवं सडक विस्तारको क्रम तथा लगानी कर्ताहरुको बढ्दो अभिरुचिसँगै आफ्नो सेवालाई विस्तार गर्न प्रालि अग्रसर बनिरहेको अध्यक्ष सापकोटा बताउँछन्। प्रालिले प्रधान कार्यालय धनगढीमा राखेर सुदूरपश्चिम प्रदेशलाई केन्द्रविन्दु बनाई देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मुख्य तथा सहायक राजमार्गका साथै ग्रामीण कच्ची सडकहरुमा लामो तथा छोटो दूरीका यातायात सेवा प्रदान गरिरहेको छ।
वातानुकूलित एसी स्तरीय सेवा, माइक्रो बस, भिडियो तथा स्तरिय एवं मध्यम स्तरीय मिनी, द्रुत डाँक सेवा, नन् स्टप सेवालगायत दिवा तथा रात्री सेवा र ग्रामीण कच्ची सडकहरूका लागि स्थानीय सेवाहरू समय सापेक्ष बस तथा जीप सेवा कम्पनीले सञ्चालन गरेर यात्रुलाई निरन्तर सेवा प्रदान भइरहेको अध्यक्ष सापकोटाले बताए।
शहरमुखी यातायात सेवा मात्रै सञ्चालन नगरी प्रालिले ग्रामीण भेगदेखी देशको राजधानीसम्म स्तरीय बससेवा सञ्चालन गरिरहेको बताउँदै अध्यक्ष सापकोटाले सुदूरका अन्य पहाडी जिल्लाबाटसमेत प्रदेश र देशको राजधानीसम्म स्तरीय बससेवा सञ्चालना रहेको जनाए।
प्रालिले काठमाडौँलगायत पोखरा, बुटवल, विराटनगरसम्म स्तरिय सोफा एसी बस सेवा सञ्चालनमा ल्याइसकेको जानकारी दिँदै अध्यक्ष सापकोटाले निकट भविष्मा नै अन्य स्थानहरूमा समेत स्तरीय बस सेवा सञ्चालनमा ल्याइने दाबी गरे।
‘स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना’ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै प्रालिले आगामी दिनमा अझै स्तरीय सेवा प्रवाह गर्ने लक्ष्य लिएको अध्यक्ष सापकोटाको भनाइ छ।
