Skin_Hospital_Dhn

मुख्यमन्त्री शाह र उत्तराखण्डका वन, पर्यटन र कृषिमन्त्रीबीच भेटघाट

धनगढी: भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार भारतको उत्तराखण्ड प्रदेशका तीनजना विभागीय मन्त्रीसँग भेटघाट गरेका छन्।

मुख्यमन्त्री शाहले शुक्रबार उत्तराखण्ड प्रदेशका वनमन्त्री सुवोद उनियाल, पर्यटनमन्त्री सतपाल महाराज र कृषिमन्त्री गणेश जोशीसँग छुट्टाछुट्टै भेटघाट गरेका हुन्।

भेटमा वन तथा पर्यटन प्रवर्द्धन र आधुनिक कृषि खेतीका विषयमा कुराकानी भएको छ। पर्यटन प्रवर्द्धनले रोगारीको सिर्जना र विदेशी मुद्रा आर्जनसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको थियो।

विकास लक्ष्य हासिल गर्न र नेपाली जनताको दिगो सामाजिक एवं आर्थिक उन्नतिका लागि पर्यटन प्रवर्द्धनले महत्वपूर्ण योगदान दिनसक्ने कुरामा छलफल भएको थियो। पर्यटन मन्त्री सतपालसँग मुख्यमन्त्री शाहले धार्मिक मानसखण्ड सर्किट, आध्यात्मिक टुरिजम, ओएलनेस टुरिजमको विषयमा छलफल गरेका थिए।

नेपालमा भौगोलिक अवस्था र मौसम अनुसारको कृषि खेती गर्ने र आधुनिक तरिकाले उत्पादन गरिएको बस्तुलाई बजारिकरणमा जोड दिनुपर्ने कृषिमन्त्री जोशी र मुख्यमन्त्रीबीच कुराकानी भएको थियो।

सोहीअनुसारको बीउबिजन र प्राविधिक सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको थियो। भेटमा नेचुरल फार्मिङ, ओर्गानिक फार्मिङ्ग उत्पादनका विषयमा कुराकानी भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ।

भारत सरकारको निमन्त्रणमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको नेतृत्वको १० सदस्यीय टोली यही वैशाख १६ गतेदेखि एकसाताको भारत भ्रमणमा रहेको छ। उक्त टोली वैशाख २२ गते स्वदेश फर्किने कार्यतालिका छ।

सम्बन्धित
Loading...