
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीबीच भेटवार्ता भएको छ।

भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहले शनिबार उत्तराखण्डका मुख्यमन्त्री धामीसँग भेटवार्ता गरेका हुन्। मुख्यमन्त्री धामीको सरकारी निवासमा भएको भेटमा नेपाल–भारतसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा छलफल भएको जनाइएको छ।

सांस्कृतिक, धार्मिक र सामाजिक दृष्टिकोणबाट नेपाल र भारतबीच गहिरो समानता छ। दुवै देशको परम्परा, रीतिरिवाज, भाषा, खानपान र जीवनशैलीमा धेरै समानता छन्। जसले वर्षौंदेखि आपसी सम्बन्ध र विश्वासलाई बलियो बनाउँदै आएको छ।
यसअघि मुख्यमन्त्री शाहले शुक्रबार उत्तराखण्ड प्रदेशका वनमन्त्री सुवोद उनियाल, पर्यटनमन्त्री सतपाल महाराज र कृषिमन्त्री गणेश जोशीसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए।
भारत सरकारको निमन्त्रणमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको नेतृत्वको १० सदस्यीय टोली यही वैशाख १६ गतेदेखि एकसाताको भारत भ्रमणमा रहेको छ। उक्त टोली वैशाख २२ गते स्वदेश फर्किने कार्यतालिका छ।
