
दार्चुला: दार्चुलाको सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टि महाकाली नदीमा भारतले गरिरहेको तटबन्ध रोक्न माग गर्दै ज्ञापन पत्र बुझाइएको छ।
विसं २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ। जसको स्थानीयले विरोध गरेको भए पनि तटबन्ध गर्न भारतले रोकेको छैन।


नेपाली भूभागमा भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेकाले त्यसलाई अविलम्ब रोक्न कूटनीतिक पहल थाल्नुपर्ने माग गर्दै नेकपा (एमाले) जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ।
महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा छिमेकी भारतले तटबन्ध निर्माण गरिरहेको छ। नेपाली भूमिमात्र नभई नदीको धार नै परिवर्तन हुनेगरी तटबन्ध निर्माण जारी रहेकाले त्यसलाई रोक्न प्रमुख जिल्ला अधिकारी अनिल पौडेलमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताए।
कूटनीतिक माध्यमबाट समस्याको समाधान यथाशक्य चाँडो गर्न परराष्ट्रको ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिए। महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको क्षेत्रमा अन्तरराष्ट्रिय सीमारेखा मिचेर तटबन्ध निर्माण भइरहेको जानकारी दिँदै अध्यक्ष घर्तीले त्यसलाई रोक्न माग गरे।
भारतले निर्माण गरिरहेको तटबन्धका सम्बन्धमा तत्काल कूटनीतिक पहल थाल्न आफूले पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले राससलाई जानकारी दिए। उनले आफू निरन्तर भारतीय समकक्षीहरुसँग सम्पर्कमा रहेको बताउँदै निर्माण रोक्न आग्रह गरेको जानकारी दिए।
