
धनगढी: सुदूरपश्चिम प्रदेशस्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आईडल सिजन–४ को सेमिफाइनल सम्पन्न भएको छ। शनिबार धनगढी उपमहानरपालिका–३ चटकपुरस्थित होटल पैवामा सेमिफाइनल सम्पन्न भएको हो।
प्रभात मिडिया एण्ड इभेन्ट प्रालिको आयोजनामा भएको चौथो संस्करणको सेमिफाइनलको प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशी जोशीले उद्धाटन गरे।

कार्यक्रममा नाष्ट कलेजका प्रबन्ध निर्देशक शिवहरी मुडभरी, चैतन्य शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वर गिरी, समाजिक अभियन्ता भरतविक्रम शाह, सिजी ग्रुपका सुदूरपश्चिम प्रदेश प्रमुख नेत्र अर्याल, एसपीए क्याम्पसका प्रमुख योगराज गौतम, प्याब्सनका पूर्व केन्द्रीय सदस्य सीताराम बुढाथोकी, बेलैरी शिक्षा शाखा प्रमुख अमित भट्ट, एलायन्स ईन्टरनेशनल स्कुलका अध्यक्ष उत्तम भण्डारीलगायत शिक्षक र अभिभावकहरूको पनि उपस्थिति रहेको थियो।
३ वटा संस्करण भव्यताका रूपमा सम्पन्न गरिसकेको प्रभात मिडिया एण्ड इभेन्ट प्रालिले चौथो संस्करणको सेमिफाइनल पनि भव्यरूपर्मै सम्पन्न गरेको प्रालिका अध्यक्ष प्रकाश छेडालले बताए।
उनका अनुसार प्रालिले विद्यार्थीहरूमा रहेको नृत्य र गायन प्रतिभालाई सबै माझ प्रस्फुटन गराउनका लागि एसईई आईडल आयोजना गर्दै आएको छ।

सेमिफाइनलमा यसवर्ष एसईई परीक्षा दिएका ६७ जना प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिएका थिए। तीमध्ये गायन विधाबाट १५ र नृत्यतर्फ १५ गरी ३० जना प्रतिस्पर्धी फाइनलमा पुगेका छन्।
सेमिफाइनलको नतिजा जेठ १ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ। सेमिफाइनल कार्यक्रममा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहेको थियो।
एसईई र कक्षा १२ का विद्यार्थीहरूलाई निःशुल्क सिम कार्ड पनि वितरण गरिएको थियो। फाइनल प्रतिस्पर्धा आगामी असार १ गते हुनेछ। फाइनलबाट दुवै विधामा १/१ जना विजेता र १र१ जना उपविजेता छनोट गरिनेछ।
दुवै विधाका विजेता क्रमशः ७५/७५ हजार र उपविजेताले ३०/३० हजार रुपैयाँ नगदसहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन्।
साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धीले पनि कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउने आयोजकले जनाएको छ।
