Skin_Hospital_Dhn

दार्चुलामा जौको बिस्कुट उत्पादन हुने

दार्चुला ।
दार्चुलामा जौको बिस्कुट उत्पादन हुने भएको छ । जिल्लाको विकट क्षेत्र अपिहिमाल गाउँपालिकामा जौको बिस्कुट उत्पादन हुने भएको हो ।

अपिहिमाल गाउँपालिकाले एक दर्जन स्थानीय महिलाहरूलाई जौबाट बिस्कुट बनाउने तालिम दिएपछि यहाँका महिलाले जौको बिस्कुट उत्पादन गर्ने भएका हुन् ।

दार्चुलामा पर्याप्त जौको खेती हुने गरेको छ । आफ्नै खेतमा उत्पादन हुने जौबाट बिष्कुट बनाएर स्थानीयको आर्थिक अवस्था सुधार गर्न सकिने आशाका साथ यो कार्यक्रम अगाडि सारिएको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताएका छन् ।

तालिममा सहभागी महिलाहरूले घरमै बसेर आफ्नै खेतमा उत्पादित अन्नबाट बिष्कुट बनाउन सक्ने भएका छन् । अब बिष्कुट उत्पादन गरेर महिलाले आयआर्जन गर्न सक्षम हुने अध्यक्ष बोहराले बताए ।

जसका लागि अपिहिमाल गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच अपिहिमाल गाउँपालिकाको स्थानीय अर्गानिक उत्पादनको खरिद—बिक्री तथा बजारीकरण गर्ने सम्बन्धी दुई पक्षीय सम्झौतामा समेत हस्ताक्षर भएको अध्यक्ष बोहराले बताएका छन् ।

अगामी दिनमा अपिहिमालको उत्पादन ब्राण्डिङसहित बजारमा पुग्ने र यसले गाउँपालिकाका जनताहरूलाई उत्पादनमूलक क्षेत्रमा काम गर्न, लगानी गर्ने हौसला प्रदान गर्ने छ ।

Loading...