
झापा: झापाको गौरादहमा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्। गएराति १ बजेतिर गौरादह नगरपालिका वडा नम्बरऔ १ क्रसर उद्योग छेउमा बहर काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा गौरादह- १ बस्ने २९ वर्षीय शंकर लिम्बू, सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्।

गोरुको मासु बोरामा हालेर लाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी सोधपुछ गर्दा उनीहरूले गौरादह- १ बेलडाँगी पानीट्याङ्की छेउ बस्ने शंकर लिम्बूको घरमा बहर काटेर मासु ल्याएको बताएका थिए।
त्यसपछि लिम्बूको घरमा गएर हेर्दा निलो प्लाष्टिक ओछ्याइ बोरा, डोको र सेतो बाल्टीमा बहरको टाउको, खुट्टा, छाला, अण्डकोष फेला परेको थियो। अन्दाजी १५० केजी बहरको मासुसहित उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
