Skin_Hospital_Dhn

एउटै कोखबाट जन्मिएका तीन दाजुभाइ प्रहरी अधिकृत

धनगढी: अछामको विकट क्षेत्र मानिने रामारोशनमा जन्मिएका तीन दाजुभाई प्रहरी संगठन मातहतका तीनवटा कमाण्ड कुशलतापूर्वक सम्हालिरहेका छन्।

रामारोशन गाउँपालिका–४ का देवानन्द न्यौपाने र पारु न्यौपानेका कोखबाट जन्मिएका सिद्धराज, केशर र मुकेश प्रहरी अधिकृत बनेर कुशलतापूर्वक काम गरिरहेका हुन्।

देवानन्द पेशाले शिक्षक हुन्। ४४ वर्षको शिक्षण पेशाबाट उनले एक महिनाअघि मात्रै अवकाश पाए। उनकी श्रीमती पारु गृहणी हुन्।

न्यौपाने दम्पत्तीका जेठो छोरा सिद्धराज पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पिएसओ (प्रहरी नायब उपरीक्षक) छन्। उनी लामो समयदेखि प्रचण्डको सुरक्षा कमाण्डमा कार्यरत छन्।

२०६३ सालमा प्रहरी निरीक्षकबाट संगठनमा प्रवेश गरेका उनी २०७४ मा प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए। उनी संगठनमा एक कुशल प्रहरी अधिकृतका रूपमा चिनिन्छन्।

माइलो छोरा केशर सल्यान जिल्लाको कमाण्ड सम्हालिरहेका छन्। उनी पनि प्रहरी नायब उपरीक्षक हुन्। २०७० मा प्रहरी निरीक्षक भएका उनी २०८० मा प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए। कान्छो छोरा मुकेश २०७६ मा प्रहरी निरीक्षक भए। उनी हाल रुपन्देही जिल्लाको इलाका प्रहरी कार्यालय बेलैयामा कार्यरत छन्।

न्यौपाने दम्पत्तीका अन्य सन्तानसमेत कम छैनन्। साइलो छोरा चन्द्रप्रकाश न्यौपाने इन्जिनियर छन् भने छोरी कविता चिकित्सक। छोरा जागिर गर्छन्। छोरी दार्चुला अस्पतालमा कार्यरत छिन्। ‘सपना देख्नुस्, संघर्ष गर्नुस् र देशको सेवामा लाग्नुस्’ भन्ने मूल्यमान्यताले हुर्किएका उनीहरू विभिन्न जिल्लामा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्।

न्यौपानेको परिवार अछामबाट कैलाली बसाइँ सरेको छ। उनीहरू कैलालीको जानकी गाउँपालिका बन्देवीपुरमा बसोबास गर्छन्। देवानन्दका बुबाआमा पहिल्यैदेखि सो ठाउँमा बसोबास गर्दै आएका थिए।

सम्बन्धित
Loading...