
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित थारु होमस्टे गाउँ भादा नेपालभरमै उत्कृष्ट होमस्टेको छनोटमा परेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको तारा गाउँ विकास समितिले सोमबार एक कार्यक्रमका बीच भादा होमस्टेलाई उत्कृष्ट घोषणा गर्दै एक लाख धनराशिले पुरस्कृत गरेको हो।

तारा गाउँ विकास समितिले नेपालभरकै होमस्टेलाई केही समय अगाडि पुरस्कारको लागि आवेदन आह्वान गरेको थियो। सोही आवेदनको आधारमा भादालाई उत्कृष्ट होमस्टेको रूपमा छनोट गरेको होमस्टे महासंघ सुदूरपश्चिमका अध्यक्ष दिनेश दहितले जानकारी दिए।
बर्दियाको डल्ला स्टे दोस्रो स्थान हासिल गरेको छ। डल्ला होमस्टेलाई जैविकमार्ग होमस्टेको रूपमा ७५ हजार धनराशिले पुरस्कृत गरिएको छ भने काठमाडौँको हाँडी गाउँ होमस्टे तेस्रो स्थान हासिल गरेको छ। हाँडी गाउँ होमस्टेलाई ५० हजार धनराशिसहित पुरस्कृत गरिएको जनाइएको छ।
