Skin_Hospital_Dhn

नेपाल प्रहरी-सनराइज बैङ्क छात्रवृत्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं ।
नेपाल प्रहरी र सनराइज बैङ्क लिमिटेडबिच ‘नेपाल प्रहरी—सनराइज बैङ्क छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरी र सनराइज बैङ्क लिमिटेडबिच ‘नेपाल प्रहरी—सनराइज बैङ्क छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा आज (बुधवार) आयोजित एक कार्यक्रमबिच हस्ताक्षर भएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले समझदारी पत्र आदान प्रदानसमेत गरेका थिए । उक्त समझदारी पत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र सनराइज बैङ्कको तर्फबाट बैङ्कका नायव महाप्रबन्धक रबिन कुमार नेपालले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सम्झौताको लागि सनराइज बैङ्कलाई धन्यवाद दिँदै सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीसँग जोडिएर सहकार्य गर्ने, प्रहरी काम कारबाही लगायत अन्य कल्याणकारी कार्यक्रमहरूमा सहजीकरण र सबलीकरण गर्ने प्रयासमा सनराइज बैङ्कले गरेको समन्वय प्रशंसनीय रहेको बताए ।

सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैङ्कबिच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा प्रहरी महानिरीक्षक कुँवरले व्यक्त गरे । उक्त अवसरमा सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल प्रहरीले आम नागरिकलाई सुरक्षित जीवनयापन र सुरक्षाको प्रत्याभूति दिन गरेको योगदान र भूमिका प्रशंसनीय रहेको बताएका छन् । यस सम्झौताले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिहरूलाई थप हौसला र प्रेरणा मिल्नुका साथै नेपाल प्रहरी र सनराइज बैङ्कबिचको सम्बन्धमा अझै प्रगाढ हुँदै जाने उनले विश्वास व्यक्त गरे ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौं, धरान सुनसरी, गरूडा रौतहट, शान्तिपुर चितवन, बेलचौतारा, तनहुँ, घोराही दाङ, वीरेन्द्रनगर सुर्खेत र धनगढी कैलाली समेत गरी ८ वटा नेपाल पुलिस स्कुलहरूका कक्षा ४ देखि १२ सम्म अध्ययनरत १५ जना विद्यार्थीहरूलाई जम्मा ९ वर्ष सम्मको अध्ययनको लागि छात्रवृत्ति रकम प्रदान गरिने छ । यस छात्रवृत्ति कार्यक्रमबाट अमर/शहीद एवम् अशक्त प्रहरी कर्मचारीका सन्ततिहरू र वहालवाला एवम् पूर्व प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका सन्ततिहरूमध्ये जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम उपलब्ध गराइनेछ ।

शैक्षिक सत्र २०८० देखि नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका प्रहरी कर्मचारीहरूको जेहेन्दार छात्र—छात्राहरूलाई वार्षिक शुल्क, परीक्षा शुल्क र स्टेशनरी खर्च समेत गरी एकमुस्ट छात्रवृत्ति रकम प्रदान गरिने छ । नेपाल पुलिस स्कुलहरूको शैक्षिक शुल्कहरू वृद्धि भएमा निर्धारित शुल्कको अधिकतम १५ प्रतिशत सम्मको वृद्धि रकम सनराइज बैङ्कबाट छात्रवृत्ति रकम प्रदान गरिने छ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत सनराइज बैङ्क लिमिटेडका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित
Loading...