
काठमाडौँ: वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको निधन भएको अस्पताल उच्च स्रोतले जनाएको छ ।
उनी ७१ वर्षका थिए । अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत नेपालको केही समयअघि निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।


उनी केही दिनदेखि अस्पताल भर्ना भए पनि सोमबार आईसीयूमा सारिएको थियो । उनी लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित थिए । पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो ।
उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका थिए । त्यस्तै २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए । पछिल्ला वर्षमा भने उनी राजनीतिमा सक्रिय थिएनन् ।
नेपाल साहित्यकारसमेत हुन् । नेपाली साहित्यिक क्षेत्रमा उनी सञ्जय थापाका नामले परिचित छन् । उनले एक दर्जनभन्दा बढी उपन्यास लेखेका छन् । एमाले महासचिव मदन भण्डारीबारे नेपालले ‘बर्बरिक’ उपन्यास लेखेका छन्। त्यस्तै ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’, ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरू’, ‘जननी जन्मभूमिश्च’, ‘फेवाको सुस्केरा’, ‘देउमाईको किनारमा’ लगायतका कृति प्रकाशित छन् ।
