
काठमाडौँ : वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। मंगलवार बसेको राष्ट्रियसभाको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराएका हुन्।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरुले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको जानकारी दिए।

‘आर्थिक वर्ष ०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा माननीय सदस्यहरुले बोल्ने क्रम नसकिएकोले आगामी बैठकमा समेत छलफल जारी रहने र‚’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूबाट जवाफ दिनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु। राष्ट्रियसभाको अर्को बैठक २०८२ साल वैशाख २८ गते आइतवार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी यो बैठक यहीँ स्थगित हुनेछ।’
राष्ट्रियसभाको अर्को बैठक वैशाख २८ गते आइतवार दिउँसो सवा १ बजे बस्नेछ।
