
धनगढी: कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुरमा भइरहेको निसर्ग हस्पिटल पाँचौं भजहर कप फुटबल प्रतियोगिताको उपाधिका लागि गौरीगंगा–११ स्पोर्टस क्लब र आयोजक श्री जनहित क्लब बी प्रतिस्पर्धा गर्ने भएका छन्।
थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुँदै आएको निसर्ग हस्पिटल पाँचौं भजहर कपको सेमिफाइनलमा जित हात पार्दै दुवै टोली उपाधिका लागि भिड्ने भएका हुन्।

समूह ए बाट सेमिफाइनलमा पुगेको गौरीगंगा–११ स्पोर्टस क्लब समूह ए बाट नै सेमिफाइनल पुगेको भजनी नगरपालिका–५ स्तरीय क्लबमाथि सानदार जित दर्ता गर्दै उपाधि नजिक पुगेको हो।

गौरीगंगाले पहिलो सेमिफाइनलमा भजनीलाई ४–१ गेल अन्तरले हराएको हो। समूह बी बाट अन्तिम चारमा स्थान बनाएको आयोजक जनहित क्लब बीले समूह बी बाट नै सेमीफाईनल पुगेको न्यू सुभित फेन्सी एण्ड श्रृंगार पसल उदासीपुरलाई हराउँदै उपाधिका लागि भिड्ने भएको हो।
आयोजक बी ले न्यू सोभित फेन्सी पसललाई टाइब्रेकरमा ३–० ले हराएको हो। निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए।
प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ। प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए।
थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडि बढाउनका लागि गरिँदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ। त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ।
