
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगास्थित महेन्द्र माध्यमिक विद्यालयलमा विद्यार्थीहरूको लर्को लागेको छ।
केही वर्षअघिसम्म सरकारी विद्यालयमा राम्रो पढाइ हुँदैन र सरकारी विद्यालयमा छोराछोरीको भविष्य उज्ज्वल हुँदैन भन्ने सोचेर महँगा निजी तथा आवासीय विद्यालयमा अभिभावकहरू आफ्ना छोराछोरी पढाउँथे। तर, पछिल्लो समय सरकारी विद्यालयले पनि निजी तथा आवासीयभन्दा राम्रो र गुणस्तरीय शिक्षा दिन थालेपछि अभिभावकहरु धमाधम आफ्ना छोराछोरी सरकारी विद्यालयमा पठाउन थालेका छन्।

पछिल्ला दिनमा सरकारी विद्यालयले पनि निजी तथा आवासीय विद्यालय भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिन थालेपछि अभिभावकहरु धमाधम आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउन थालेका हुन्। त्यसको ज्वलन्त उदाहरण डडेल्धुरा सदरमुकामस्थित महेन्द्र माध्यमिक विद्यालय बनेको हो।
उक्त विद्यालयमा आज बुधबार मात्र २२३ जना विद्यार्थीले अध्ययनका लागि प्रवेश परीक्षा दिएका छन्। उनीहरूले कक्षा २ देखि ९ मा पढ्नका लागि विभिन्न विद्यालय छाडेर महेन्द्र माविमा प्रवेश परीक्षा दिएको सो विद्यालयले जनाएको छ।

सो विद्यालयमा निजी तथा आवासीय विद्यालयबाट अध्ययन गर्न आएका विद्यार्थीको चापका कारण कक्षाकोठा अभावसँगै शिक्षकको समस्या समेत बढेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले बताए। विद्यालयको शैक्षिक वातावरण राम्रो भएको र विगतदेखि नै विद्यालयले गुणस्तरीय शिक्षाका कारण राम्रो नतिजा आउने गरेकाले विद्यालयमा विद्यार्थीको चाप बढेको उनले बताए।
विद्यार्थीको आकर्षण र संख्या बढ्दै गएपछि विद्यालयले आफ्नो गुणस्तरलाई कायम राख्न नियमित परीक्षा, अतिरिक्त क्रियाकलाप, अभिभावकसँगको अन्तरक्रियालाई निरन्तरता दिइरहेको उनले बताए। विभिन्न विद्यालय छोडेर भर्ना हुन विद्यार्थी आउन थालेपछि कक्षाकोठा, फर्निचरलगायतका सामग्रीको थप व्यवस्थापन गर्नुपरेको विद्यालयका शिक्षक सुभास भट्टले बताए।
पछिल्लो समयमा महेन्द्र माविले नेपाली र अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेर उत्कृष्ट नतिजा दिन थालेसँगै विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको उनको भनाइ छ।
पहिले अंग्रेजीमा राम्रो गरून् भनेर निजी तथा आवासीय विद्यालयमा छोराछोरी पढाउने अभिभावकले महेन्द्र माध्यमिक विद्यालयमै अंग्रेजी माध्यममा राम्रोसँग पढाइ हुन थालेपछि छोराछोरी पढ्न पठाएको विद्यालयका शिक्षक भट्टले बताए।
अंग्रेजी पढ्नैपर्ने बाध्यताले अभिभावकले जबरजस्ती निजी तथा आवासीय विद्यालयमा छोराछोरीलाई पठाउने गरेको उल्लेख गर्दै उनले सरकारी विद्यालयले कम खर्चमा नै राम्रो शिक्षा प्रदान गर्न थालेका कारण अभिभावकको रूची बढेको बताए।
विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीलाई प्रवेश परीक्षा लिएर मात्र यस विद्यालयमा भर्ना गर्ने गरेको उनको भनाइ छ। सामुदायिक विद्यालय भएपनि महेन्द्र माविमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठन भइरहेको छ।
