
बझाङ ।
बझाङको छबिसपाथिभेरा ४ ब्याँसीमा आफुसंगै काम गर्ने मजदुरको हत्या गरिएको छ । जिल्लाको छबिसपाथिभेरा ४ ब्याँसीमा सडकमा मजदुर काम गर्दै आएका जाजरकोट, भेरी नगरपालिका ४ घर भएका ५२ वर्षीय गोपाल विकको मंगलबार राति हत्या गरिएको प्रहरीले जनाएको छ ।

विकको सोही ठाउँका उदिप भन्ने रोहन सुनारले मदिरा सेवन गरी सामान्य विवादका क्रममा हत्या गरेको बझाङ प्रहरी प्रमुख तथा डीएसपी जागेश्वर भण्डारीले बताए । हत्यापछि गोपालको शव झाडीभित्र लुकाएर रोहन फरार रहेका थिए । मृतक गोपाल विक र हत्यारा रोहन सुनार दुवै जान बुधबार बिहान अनुपस्थित भएपछि अन्य मजदुरले उनीहरूको खोजी सुरु गरेका थिए।

घटनास्थल ब्याँसी भन्ने ठाउँमा रगत देखिएपछि खोजीका क्रममा शव झाडीभित्र भेटिएको थियो। बुधबार बिहानैदेखि फरार सुनारलाई बसमा भाग्दै गर्दा केदारस्युँको रोयलबाट पक्राउ गरिएको डिएसपी भण्डारीले बताए ।
पक्राउ परेका सुनारलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
