
काठमाडौं: भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्।
यससँगै सबैभन्दा लामो ढाँचामा उनको भविष्यको बारेमा गरिएको अनुमान अन्त्य भएको छ। उनले सामाजिक सञ्जालमार्फत आफ्नो टेस्ट करियरलाई यहीँ अन्त्य गर्ने निर्णय लिएको जनाएका हुन्।


‘मैले भारतीय जर्सीमा टेस्ट क्रिकेट खेल्न पाउँदा गर्व महसुस गरेको छु। यो मेरो जीवनको एक अविस्मरणीय यात्रा थियो’ उनले लेखेका छन्।
रोहित टेस्टमा भारतका सबैभन्दा सफल ब्याट्सम्यान हुन्। ३८ वर्षीय शर्माले ६७ टेस्टमा ४०.५७ को औसतमा १२ शतक र १८ अर्धशतकको मद्दतले ४ हजार ३०१ रन बनाएका छन्। रोहित शर्माले सन् २०१३ मा वेस्ट इन्डिजविरुद्ध कोलकातामा टेस्ट डेब्यु गरेका थिए।
उनले एकदिवसीय करियरलाई भने निरन्तरता दिने पनि जनाएका छन्। उनको कप्तानीमा भारतले टी-२० विश्वकप, एसिया कप र च्याम्पियन्स ट्रफी जितेको छ।
रोहितको सन्न्याससँगै भारतले इङ्ल्यान्डविरुद्धको सिरिजमा नयाँ टेस्ट कप्तान पाउने भएको छ। यो दौडमा जसप्रीत बुमराह, केएल राहुल, शुभमन गिल र ऋषभ पन्त अगाडि छन्।
