
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिइरहेको छ। उपमहानगरपालिकाका १९ वटै वडामा विशेषज्ञ वडा क्लिनिक सेवा सञ्चालन गर्दै आइरहेको हो।

उपमहानगरपालिकाले बिहीबार वडा नं. २ को आधारभूत स्वास्थ्य केन्द्र बैयाबेहडीमा वडा स्वास्थ्य क्लिनिक सेवा सञ्चालन गरेको छ। आज विशेषज्ञ स्वास्थ्य क्लिनिकमा फिजिसियन, स्त्री तथा प्रसूति रोग र आँखासम्बन्धी बिरामीहरूले सेवा लिएका थिए।

आज नयाँ तथा पुरानो सेवा लिएका जम्मा सेवाग्राहीको संख्या १४१ जना रहेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाइएको छ। जसमा १० महिला र ६३५ जना पुरुष छन्।
ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको नगर प्रमुख गोपाल हमालले बताए।
उपमहानगरपालिकाले तालिका अनुसार सञ्चालन गर्दै आएको विशेषज्ञ वडा क्लिनिकमा जनरल फिजिसियन, स्त्री तथा प्रसूति रोग सेवा, आँखा जाँच सेवा, दन्त रोग उपचार सेवा, हाड जोर्नी तथा नसारोग उपचार सेवा, प्रयोगशाला सेवा, इसीजी सेवा, भिडिओ एक्सरे सेवा र गर्भवतीको स्वास्थ्य अवस्थाको परीक्षण सेवा दिने गरेको छ।
