
धनगढी ।
बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब कञ्चनपुरको हिमाल फ्रेन्ड्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा नव युवा मैत्री भाव एकता समाजले हिमाल फ्रेन्ड्सलाई ३–२ गोल अन्तरले पराजित गरी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको हो ।

बाँकेको कोहलपुर रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ । शुक्रवार भएको खेलमा निर्धारित समय भित्र दुवै टोलीले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट नजिता निकालिएको हो । पेनाल्टीमा बर्दियाका तर्फबाट योगेश थापा, चिरण कार्की र अभिषेक बमले गोल गर्न सफल भए । कञ्चनपुरका तर्फबाट शिव वोटे र अञ्जन बोगटी मात्र गोल गर्न सफल भए । प्रतियोगिता अन्तरगत शनिवार सेमिफाइनल प्रवेशका लागि कैलाली र आयोजक प्रतिस्पर्धा गर्नेछन् ।

‘प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ ।
