
कञ्चनपुर ।
महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सुरु भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपकरणहरू जडान भएको लामो समयपछि उक्त सेवा सुरु भएको हो । हिजो (शुक्रबार) देखि स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेपछि डायलसिस सेवा सुरु भएको छ ।
कैलालीको धनगढीस्थित सेती प्रदेशिक अस्पतालमा डायलसिस गराउँदै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका १० तिलकेनीका नन्दराज जोशीले हिजो (शुक्रबार) पहिलो दिन सेवा लिएका छन् । उनी तीन वर्षदेखि मिर्गौलाका बिरामी थिए ।


महाकाली प्रादेशिक अस्पतालमै सेवा पाएपछि जोशी निकै खुसी भएका छन् । धनगढी आउने जाने झन्झट अनि पालो कुर्नुपर्ने बाध्यता लगायतले निकै सास्ती पाउने उनलाई अब भने केही सहज हुने लागेको छ । डायलसिस सेवाका लागि ५ बेडको व्यवस्था गरिए पनि पहिलो चरणमा दुई बेडबाट दैनिक २ जनालाई सेवा दिने लक्ष्य रहेको महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले बताए ।
उनका अनुसार स्वास्थ्य सेवा विभागको टोलीले अनुगमन गरेर सेवा सुरु गर्ने अनुमति दिए पनि सूचीकृत हुन नसकेकाले तत्काल पूर्ण रूपमा सेवा सञ्चालन गर्न नसकिने बताए । एक पटक डायलसिस गर्न कम्तीमा ४ घण्टा समय लाग्छ ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ नेफ्रोलोजिस्ट डा. जुजुराज श्रेष्ठ र स्वास्थ्य सेवा विभागका डा. खगेश्वर गेलालले डायलसिस सेवाका लागि जडान गरिएको उपकरण लगायत भौतिक अवस्थाको अनुगमन गरेका हुन् । श्रेष्ठ र गेलालकै उपस्थितिमा शुक्रबार एक जनाको डायलसिस पनि गरिएको हो ।
भोलि (आइतबार) देखि दुई जनालाई बोलाइएको उनले बताए । अहिले यहाँका मिर्गौला रोगीहरू डायलसिसका लागि धनगढी वा सीमावर्ती भारतीय बजारतर्फ जानुपर्ने बाध्यता छ । अहिले डायलसिस गराउनेको संख्या ४० भन्दा बढी छ ।
