Skin_Hospital_Dhn

आईपीएल : चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो, दिल्लीले तीन खेलमा खाता खोल्न सकेन

एजेन्सी।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ भने दिल्ली क्यापिटल्सले खाता समेत खोल्न सकेको छैन ।

गएराती भएको खेलमा जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर १ बलमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । चेन्नईका अजिक्या रहाणेले ६१ रन बनाए । उनले १९ बलमा अर्धशतक पूरा गरे ।

मुम्बईका जेसन बेहरनडोफ, पीयूष चवला र कुमार कार्तिकेले एकरएक विकेट लिए । त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । मुम्बईका ईशान किशनले सर्वाधिक ३२ रन बनाए ।

चेन्नईका रविन्द्र जडेजाले ३ विकेट लिए । मिचेल सान्टनार र तुषार देशपान्डेले समान २ विकेट लिए । चेन्नई ३ खेलमा ४ अंकसहित तालिकाको चौथो स्थानमा छ, दुई खेलमा खाता खोल्न नसकेको मुम्बई पुछारबाट तेस्रो स्थानमा छ ।

यो मुम्बईको लगातार दोस्रो हार हो । चेन्नईको तेस्रो खेलमा दोस्रो जित हो ।

त्यस्तै, हिजो (शनिबार) भएको पहिलो खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको थियो । गुवाहिटीमा राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय ४२ रन मात्रै बनायो ।

दिल्लीका लागि डेविड वार्नरले ६५ र ललित यादवले ३८ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्टले ३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानका लागि जस बटलरले ७९, यशस्वी जैसवालले ६० र सिम्रन हेटमायरले ३९ रन बनाए । दिल्लीका मुकेश कुमारले २ विकेट लिए ।

राजस्थान ४ अंकसहित शीर्ष स्थानमा छ भने तीन खेलमा खाता खोल्न नसकेको दिल्ली पुछारबाट दोस्रो स्थानमा छ ।

सम्बन्धित
Loading...