आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ। नेपाली समय अनुसार आज दिउँजो पौने २ बजे खेल हुनेछ।
नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने विनाको पनि यो पहिलो लिग टु खेल हुनेछ ।
विन्डहोकमा हुने खेलमा नेपाल घरेलु टोली नामिबिया विरुद्ध ओडिआईमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
पछिल्लो पटक नेपाल, नामिबिया र स्कटल्याण्ड नै सहभागी शृखंला जुलाईमा स्कटल्याण्डमा भएको थियो ।
त्यसबेला नेपालले नामिबिया विरुद्धको दुवै खेलमा हार व्यहोरेको थियो । त्यसैले ओडीआईमा नामिबियाविरुद्ध नेपाल पहिलो जितको खोजीमा छ ।
स्कटल्याण्डमा भएको शृंखलामा नेपाल नामिबियासँग पहिलो खेलमा ६३ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।
यस्तै शृंखलाको पहिलो खेलमा बिहीबार नामिबिया स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो ।
नामिबिया २७ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ भने २० खेलबाट नेपालको १७ अंक छ र छैटौं स्थानमा छ । स्कटल्याण्ड २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ ।