
धनगढी ।
तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको फाइनलमा कैलालीको स्टार सिटी क्लब प्रवेश गरेको छ । बाँकेको कोहलपुर रेसिङ सहारा क्लबले श्रम स्वीकृति विनाका तीन जना विदेशी खेलाडी खेलाउन बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही गर्दा उक्त क्लबको कारबाहीसँगै स्टार सिटी उपाधि नजिक पुगेको हो ।
आज (सोमबार) खेल सुचारु हुनु पूर्व रेसिङ सहाराको टिमले तीन जना विदेशी खेलाडी समावेश गरेर टोली तयार परेको थियो । आयोजकले श्रम स्वीकृति माग्दा तीनै जनाको कागजात उपलब्ध गराउन सकेन । क्लबको नियमावली विपरीत हुन जाने भन्दै श्रम स्वीकृति विनाका विदेशी खेलाडी नखेलाएर स्वदेशी खेलाडी मात्र खेलाउन आयोजकले माग गरेपछि उल्टै गाली गलौज गरेर बल प्रयोग गर्न खोजेपछि उक्त क्लबलाई कारबाही गरिएको आयोजकले जनाएको छ । खेल बहिस्कार गरी मैदान छोडेर जाने टिमलाई ५० हजार जरिवाना सहित कारबाही गरिने क्लबको नियमावलीअनुसार रेसिङ सहाराको टिमलाई कारबाही गरिएको आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबकाअध्यक्ष दिनेश कलेलले बताए ।


‘हामीले खेल सुचारु हुनु पूर्व कागजात माग गरेको थियौँ,’ उनले भने, “तर उहाँहरू (कोहलपुर रेसिङ सहारा क्लब) को टिमले कागजात नचाहिने भन्दै जबरजस्ती गर्न खोजेपछि टिम डिस्क्वालीफाइ भएको छ । आगामी संस्करणहरूमा खेल्न नपाउने गरी उक्त क्लबलाई ५० हजार जरिवाना पनि गरिएको छ ।” मैदान छोडर गए लगत्तै अनाधिकृत नम्बरको प्रयोग गरी अध्यक्ष कलेललाई गाली गलौज गरिएपछि आगामी संस्करणमा उक्त क्लबलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको आयोजकले जनाएको छ । यस अघि क्वाटर फाइनलमा एपीएफसँगको खेलमा उक्त क्लबले स्वदेशी खेलाडी मात्र समावेश गरेर सहभागिता जनाएको थियो ।
‘जग शक्तिगोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप’ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा भोली (मङ्गलवार) बर्दियाको नवयुवा मैत्री भाव एकता समाज क्लब र नवलपरासीको फोर ब्रदर्श एफसी प्रतिस्पर्धा गर्ने छन् । फाइन खेल स्टार सिटी र मङ्गलवारको विजेता टोलीबिच ३० गते बिहीबार हुने छ । ‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’भन्ने नाराका साथगौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गते समापनहुने छ ।
१० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेतालाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहितनगद १० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।
