Skin_Hospital_Dhn

ट्राफिक प्रहरीले भित्र्यायो लापसे जाँच्ने मसिन, लापसे गरेर सवारी चलाउनेलाई पनि कारबाही गर्ने

काठमाडौं ।
अबदेखि लागुपदार्थ सेवन गरेर सवारी चलाउनेलाई पनि प्रहरीले कारबाही गर्ने भएको छ । यसका लागि प्रहरीले लागुपदार्थ सेवन जाँच गर्ने छुट्टै प्रविधि प्रयोगमा ल्याएको छ ।

यसअघि चालकले लागुपदार्थ (गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि) सेवन गरेको जाँच गर्न स्वास्थ्य परीक्षण नै गर्नुपर्ने बाध्यता थियो । मापसे जाँच गर्दा भने प्रहरीले ‘ब्रेथ एनालाइजर’ मसिन प्रयोग गर्दै आएको छ ।

लापसे जाँचका लागि ‘सोटोक्सा ड्रग एनालाइजर’ (सोटोक्सा औषधि विश्लेषक) प्रविधि प्रयोगमा ल्याउन थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

“काठमाडौंका सबै चेक पोस्टमा ‘ब्रेथ एनालाइजर’ भएपनि लापसे जाँच गर्न झन्झट थियो । अब चाँडै नै सबै ठाउँमा लापसे पनि जाच्ने व्यवस्था मिलाउँदै गर्छौं,” उनले भने ।

कसरी हुन्छ लापसे जाँच ?

लागुपदार्थ सेवन गरेरनगरेको थाहा पाउन हालसम्म चालकको स्वास्थ्य नै जाँच गर्नुपर्ने बाध्यता छ । यसका लागि स्वास्थ्य प्राविधिक, प्रहरीको लागुऔषध ब्यूरो र ट्राफिक प्रहरीको टोली खटिनुपर्छ । कुनै चालकले लापसे गरेको शङ्का लागे प्रमाणित गर्न उसको पिसाब परीक्षण अर्थात ‘युरिन टेस्ट’ गर्नुपर्छ ।

“यसअघिसम्म लापसेको जाँच युरिन टेस्टबाट भइरहेको छ । समय लाग्ने भएपनि यसको नतिजा विश्वासनीय हुने हुन्छ,” उनले भने, “तर यो विधिबाट परीक्षण गर्दा समय धेरै लाग्छ । त्यस्तै यो विधि झन्झटिलो पनि छ ।”

यसैकारण लापसे जाँचलाई प्रभावकारी बनाउन प्रहरीले ‘सोटोक्सा ड्रग एनालाइजर’ नामक प्रविधिको नमूना प्रयोग गरिरहेको उनले बताए । यस प्रविधिबाट लापसे जाँच प्रभावकारी ढङ्गले गर्न सकिने उनको भनाइ छ ।

“सवारी चालकको मुखको स्वाब ड्रग एनालाइजरमा राख्दा लापसे सेवन गरेरनगरेको थाहा पाउन सकिन्छ । यसले जाँचको काम छिटो र सरल बनाउँछ,” उनले भने ।

“सुरुवाती चरणमा मसिन थोरै संख्यामा भित्र्याएका छौँ । यसको सफल अभ्यास भएसँगै देशैभर प्रयोगमा ल्याउने गरी मसिन थप्ने गर्छौं ।” उनले थपे । टेकपानाबाट साभार

सम्बन्धित
Loading...