Skin_Hospital_Dhn

राससको तस्बिर प्रदर्शनीले नेपालको सांस्कृतिक पहिचानलाई विश्वमाझ फैलायो : अध्यक्ष लम्साल

काठमाडौंः नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीले नेपालको प्राकृतिक र सांस्कृतिक पहिचानलाई विश्वमाझ फैलाउने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताएका छन्।

प्रदर्शनीको अवलोकनपछि अध्यक्ष लम्सालले भने, ‘गणतन्त्रले हामीलाई स्वतन्त्रता र समृद्धिको बाटो देखाएको छ। पर्वतीय पर्यटन हाम्रो शान र पहिचान हो, जसलाई राससको यो प्रदर्शनीले विश्वसामु पुर्‍याउन सफल भएको छ।’

उनले थपे, ‘हिमाल हाम्रो सांस्कृतिक र आर्थिक समृद्धिको आधार हो, तर जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरलाई हामीले गम्भीर रूपमा लिनुपर्छ। यस्ता रचनात्मक कार्यले पर्यटन र संरक्षणलाई सँगसँगै अगाडि बढाउँछ।’

राससले आयोजना गरेको तस्बिर प्रदर्शनीले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्वतीय पर्यटनको विश्वव्यापी सम्भावनालाई उजागर गरेको उनको भनाइ छ। राससको आफनै भवनमा आयोजित यस प्रदर्शनीमा सगरमाथा, अन्नपूर्ण, धवलागिरि, मनास्लु जस्ता हिमालका मनमोहक दृश्यहरू, पर्वतीय क्षेत्रका र जैविक विविधता झल्काउने तस्बिरहरू प्रदर्शन गरिएका थिए। गणतन्त्र दिवसको उत्सवमा आयोजित यो कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धन र हिमाली क्षेत्रको संरक्षणमा नयाँ सन्देश प्रवाह गरेको छ।

अध्यक्ष लम्सालले राससलाई प्रामाणिक समाचार र रचनात्मक मञ्चको रूपमा थप सशक्त बनाउनुपर्नेमा जोड दिँदै यस्ता प्रयासले पत्रकारितालाई नयाँ उचाइ दिने बताए। ‘राससले समाचार मात्र होइन, नेपालको सौन्दर्य, पहिचान र चुनौतीलाई विश्वमाझ पुर्‍याउने जिम्मेवारीपूर्ण भूमिका निभाउनुपर्छ। पर्वतीय पर्यटनको प्रवद्र्धन र संरक्षणमा यो प्रदर्शनी एक कोशेढुङ्गा हो,’ उनले भने।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ले यो प्रदर्शनीले नेपालको पर्वतीय पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न र हिमाली क्षेत्रको संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। ‘हाम्रो उद्देश्य नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई विश्वसामु प्रस्तुत गर्नु हो। गणतन्त्रको यो अवसरमा हामीले हाम्रो पहिचानलाई थप उजागर गरेका छौँ,’ उनले भने।

प्रदर्शनीमा सहभागीहरूले तस्बिरहरूले नेपालको पर्वतीय सौन्दर्य, स्थानीय संस्कृति र पर्यावरणको संरक्षणको सन्देशलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेको भन्दै प्रशंसा गरे।

नेपाल प्रेस युनियनका उपाध्यक्ष दिपेन्द्र वान्तवाले भने, ‘यी तस्बिरहरूले हिमालको सुन्दरता र नेपालको पर्यटकीय सम्भावना मात्र होइन, संरक्षणको आवश्यकता पनि देखाउँछन्।’ प्रदर्शनीमा मर्दी हिमाल, पुनहिल, लाङ्टाङ, मुस्ताङ र गोसाइँकुण्डजस्ता क्षेत्रका तस्बिरहरूले नेपालको विविध पर्यटकीय गन्तव्यलाई उजागर गरेका छन्।

सम्बन्धित
Loading...