
काठमाडौँ ।
फ्रेन्स लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लेन्सलाई पराजित गरेको छ ।

पार्क डेस प्रिन्सेसमा हिजो (शनिबार) राति भएको खेलमा पिएजीले लेन्समाथि ३–१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा एमबाप्पेसँगै लियोनेल मेस्सी र भिटिन्हाले गोल गरे । लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल फर्काए ।

लिगको शीर्षस्थानमा पिएसजी छ भने दोस्रो स्थानमा लेन्स छ । शनिबार राति भएको खेलमा एक गोल गरेसँगै एमबाप्पे लिग वानमा पिएसजीको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले एडिन्सन काभानीको कीर्तिमानलाई तोडेका हुन् । एमबाप्पेले १६९औं लिग खेलमा १३९औं गोल गरेका हुन् ।
यस जितसँगै पिएसजीले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको ३१ खेलबाट ७२ अंक पुगेको छ । पराजित लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा छ ।
