Skin_Hospital_Dhn

प्रधानमन्त्री प्रचण्डले आज आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै, नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विस्तार गर्दै छन् । उनले आज (आईतवार) आठौँपटक मन्त्रिपरिषद् विस्तार लागेका हुन् ।

आज नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्रीका रूपमा शपथ खुवाउने मात्र निश्चित छ, यो खबर तयार पार्दासम्म अन्य मन्त्रीको टुंगो लागेको छैन ।

साउदलाई आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आज साउदलाई परराष्ट्रमन्त्री बनाएपछि उनको जिम्मेवारीमा अझै ५ मन्त्रालय रहने छन् ।

परराष्ट्रमन्त्रीको शपथपछि पनि प्रधानमन्त्री प्रचण्डमातहत अझै कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र खानेपानी तथा सरसफाइ मन्त्रालय बाँकी रहने छन् ।

कांग्रेसको भागमा ८ मन्त्रालय परेको छ । आज परराष्ट्रमन्त्री पठाएपछि अब उसको भागमा ३ मन्त्रालय (कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद) बाँकी रहनेछन् ।

यसअघि कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, सहरी विकासमन्त्रीमा सीता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाल नियुक्त भइसकेका छन् ।

यस्तै अहिलेसम्म नेकपा माओवादी केन्द्रबाट प्रचण्ड प्रधानमन्त्री, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट सुशीला सिर्पाली ठकुरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेकी छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) बाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरत्‌सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका छन् ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

खानेपानी मन्त्रालय पाएको जनमत पार्टी भने उद्योग मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिसकेको छ । जनमतबाट खानेपानीमन्त्री बनेका अब्दुल खानले रोजेको मन्त्रालय नपाएपछि सातौँपटक मन्त्रिपरिषद् विस्तार हुँदा चैत १७ गते पदबाट राजीनामा दिएका हुन् ।

योसँगै सत्ता गठबन्धनमा रहे पनि जनमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरी ४ पार्टी सरकारमा सहभागी छैनन् ।

सम्बन्धित
Loading...