
धनगढी ।
अहिलेसम्म सुदूरपश्चिम प्रदेशलाई आवश्यक पाठ्यपुस्तकको करिब ८० प्रतिशत पाठ्यपुस्तक प्रदेशमा आएर सम्बन्धित जिल्लामा धमाधम ढुवानी भइरहेको छ ।
हालसम्म १४ लाख थान पाठ्यपुस्तक आइसकेको धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयले जानकारी दिएको छ । केन्द्रमार्फत कक्षा ६ देखि १२ कक्षासम्मको पुस्तक वितरण भइरहेको छ । १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक भने निजी प्रकाशनले ढुवानी गरिरहेका छन् ।

नयाँ शैक्षिक सत्र अगावै विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पुर्याउने सरकार र केन्द्रको नीति अनुरुप विभिन्न जिल्लाहरुमा पुस्तक पठाइरहेको केन्द्रका धनगढी प्रमुख ध्रुवराज पन्तले बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाहरुलाई प्राथमिकतामा राखेर चैत २६ गतेबाट पुस्तक सम्बन्धित जिल्लामा पठाउने कार्य भइरहेको छ । दुर्गम जिल्लाहरु बाजुरा, दार्चुला, बझाङ र अछाममा सुरुमा पाठ्यपुस्तक पठाइएको छ । दार्चुला र बाजुराका लागि डेढ र डेढ लाख थान पाठ्पुस्तक पठाइएको पन्तले बताए ।

‘‘अछाम र बझाङका लागि भने अझै ढुवानी जारी रहेको छ’’, उनले भने,‘‘शनिबार बिदाको दिन पनि ट्रकमा पुस्तक लोड गरेर पठाएका छौं ।’’ वैशाख ४ गतेबाट बैतडी हुँदै अन्य जिल्लामा पालैपालो पुस्तक ढुवानी गरिने जनाइएको छ । एक जिल्लामा पुस्तक ढुवानीका लागि दुई दिन छुट्टयाइएको छ । प्रदेशको सात पहाडी जिल्लामा पुस्तक ढुवानी सकिएपछि मात्रै कञ्चनपुर र कैलालीलाई पाठ्यपुस्तक दिइने जनाइएको छ । ‘‘दुवै जिल्लाका लागि वैशाख १० गतेबाट पुस्तक ढुवानी हुन सक्छ’’, प्रमुख पन्तले भने ।
प्रदेशमा करिब १८ लाख पाठ्यपुस्तक आवश्यक पर्छ । अब केन्द्रबाट २० प्रतिशतमात्रै पाठ्यपुस्तक आउन बाँकी छ । केही पाठ्यपुस्तक वैशाख ५ गते लोड भएर आउने जनाइएको छ । आवश्यकताको आधारमा थप पुस्तक माग गरिरहेको उल्लेख गर्दै प्रमुख पन्तले यो वर्ष कुनै पनि पाठ्यपुस्तक अभाव हुने अवस्था नरहेको बताए । ‘‘पाठ्यपुस्तकको अभाव छैन र हुँदैन’’, उनले भने,‘‘कुनै पुस्तक कम हुन थालेपछि तीन—चार दिन अगाडि नै माग गर्ने गरेका छौं ।’’
सुदूरपश्चिम प्रदेशलाई आवश्यकता अनुसार पाठ्यपुस्तक पठाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका बजार व्यवस्थापन शाखा प्रमुख चित्रकुमार आचार्यले बताए । उनले थप आवश्यक पर्ने पाठ्पुस्तक माग भएको दुई र तीन दिनभित्रै पुर्याउने व्यवस्था गरिएको बताए । ‘‘अपुग किताब २ — ३ दिनभित्रै पठाइ दिन्छौं’’, उनले भने।
प्रदेशको विभिन्न जिल्लामा किताब पुर्याउनका लागि हालसम्म १८५ जना व्यवसायी सूचीकृत भएका छन् । दर्ता जारी रहेकाले व्यवसायी सङ्ख्या २०० सम्म पुग्ने जनाइएको छ । कुनै पनि जिल्लामा सम्बन्धित जिल्लाका व्यवसायीलेमात्रै पाठ्यपुस्तक ढुवानी गर्न पाउने गरेको कैलालीको दाहाल पुस्तक पसलका सञ्चालक ताराप्रसाद दाहालले बताए । उनले अहिलेसम्म पहाडी जिल्लामा पाठ्यपुस्तक ढुवानी भइरहेको उल्लेख गर्दै कैलालीको पालो अलि पछि रहेको जानकारी दिए ।
पहाडी विकट जिल्लालाई प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गर्ने कार्य भइरहेकाले कैलाली र कञ्चनपुरका विद्यार्थीको हातमा भने वैशाख दोस्रो सातामात्रै पाठ्यपुस्तक पुग्ने देखिएको छ ।
