
बैतडी ।
बैतडीका बाशुदेव जोशीको हत्यामा संलग्न एकजना महिलासहित दुई जना आरोपित पक्राउ परेका छन् । हत्या आरोपमा महेन्द्र बिष्ट र धनमती भण्डारी पक्राउ परेका हुन् ।

दोगडाकेदार गाउँपालिका–८ तोलीका मन्दिरे भनिने २४ वर्षीय महेन्द्र बिष्ट र कट्टेधारकी २८ वर्षीया धनमती भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रेम शाहीले बताएका छन् । महिलालाई आइतबार र विष्टलाई हिजो घरबाटै पक्राउ गरिएको उनले बताए।

ढोकामा बाहिरबाट ताला लगाएर बिष्टलाई भित्र लुकाइएको थियो । शनिबार राति धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको थियो । मृतक जोशीका दाई पुष्पराज जोशीले ज्यान सम्बन्धि कसुरमा बिष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएका थिए । मृतक जोशीको शव जिल्ला अस्पताल बैतडीमा परीक्षणपछि आफन्तलाई बुझाइएको छ । हिजो आफन्तहरुले अन्तिम संस्कार गरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।
