Skin_Hospital_Dhn

पाठ्यपुस्तक दिवसको अवसरमा विद्यार्थीलाई पुस्तक वितरण

दार्चुला ।
भर्ना भएसँगै विद्यार्थीले यस वर्ष पाठ्यपुस्तक पाएका छन् । आज (बैसाख ५ गते मंगलबार) पाठ्यपुस्तक दिवसको अवसरमा विद्यार्थीलाई पुस्तक वितरण गरिएको महेन्द्र नमुना मावि खलङ्गाका प्रधानाध्यापक रामदत्त जोशीले बताए ।

विद्यार्थीलाई भर्ना भएसँगै स्वागत गरिएको र किताब वितरण गरेर शुभकामनासहित घर पठाइएको बताए । दार्चुलामा आधारभूत र माध्यमिक तहमा गरी झण्डै २३ हजार विद्यार्थी अध्ययनरत छन् । भर्ना सप्ताहभित्रै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्नेगरी वितरणको काम भइरहेको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले बताए ।

वैशाख ५ गते पाठ्यपुस्तक दिवस मनाइन्छ, उनले भने, “विद्यार्थी भर्ना भएसँगै पाठ्यपुस्तक सबै विद्यार्थीको हातमा पुगिसक्छ ।” जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीबाट जिल्लाका स्टेशनरीहरुले विद्यार्थीको माग बमोजिमका अधिकांश पुस्तक ल्याइसकेको उनले बताए ।

सुदूरपश्चिमको दार्चुला, बझाङ, बाजुरालगायत विकट जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको जनक शिक्षा सामग्री केन्द्र धनगढीका प्रमुख ध्रुवराज पन्तले जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार दार्चुलाका नौ वटै स्थानीय तहका पुस्तक विक्रेताले पाठ्यपुस्तक ल्याइसकेका छन् । शैक्षिकसत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातमै पाठ्यपुस्तक पाउँदा खुसी लागेको विद्यार्थीले बताएका छन् ।

सम्बन्धित
Loading...