
डोटी ।
डोटीको बडीकेदार गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीले अनिश्चितकालीन तालाबन्दी गरेको छ । विप्लव समूहले करीव दुई महिना अगाडि दिएको ज्ञापन पत्र अनुसार सुधार नभएको भन्दै तालाबन्दी गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गाउँपालिकाले गुणस्तरहीन औषधी खरिद गरेको, सामाजिक सुरक्षा भत्ता वितरण झञ्झटिलो बनाएको, गाउँपालिकाको बजेटमा भ्रष्टाचार हुने गरेको, कर्मचारी छनोटमा मनोमानी गरेको जस्ता आरोप लगाएर १२ फागुनमा गाउँपालिकामा ज्ञापनपत्र बुझाएको थियो ।

अहिलेसम्म समस्या समाधानका लागि पहल नभएको भन्दै आज (बुधबार) अनिश्चितकालीन तालाबन्दी गरिएको नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले भने, “हामी कार्यालयमा काम गर्दै थियौं, उहाँहरु आउनुभयो, कर्मचारी सबैलाई बाहिर पठाएर तालाबन्दी गर्नुभयो ।” उनले कार्यालय खुलाउन बन्दकर्ता र जनप्रतिनिधिबीच छलफल भइरहेको बताए ।
