
बैतडी।

बैतडीका सरकारी कार्यालयका प्रमुखहरु र सुदुुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह बिच अन्तरक्रिया कार्यक्रम भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह बैतडी भ्रमणका क्रममा सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले धेरै ठुला गफ नदिएर स्थानीय स्रोत साधनको भरपुर प्रयोग गर्ने बताएका छन् ।
कर्मचारीका सन्दर्भमा जनशक्तिको अभाव रहेको बताउँदै लोकसेवा आयोगलाई तत्काल जनशक्ति तयार गर्नका लागि छलफल थालेको उनले बताए।


मुख्यमन्त्री शाहले कर्मचारी , जनप्रतिनिधि सबै मिलेर प्राथमिकताका आधारमा योजना छनोट गरी पहिला आवश्यकता के हो भनेर पहिचान गरेर योजना छनोट गर्नुपर्नेमा जोड दिए ।
उनले जिल्लाको शान्ति सुरक्षाको विषयमा विशेष ध्यान दिनुपर्ने बताए । प्रदेश सरकारको प्राथमिकता कृषि , पर्यटन , शिक्षा भएको बताउँदै मुख्यमन्त्री शाहले स्रोत साधनले भ्याएसम्म इमानदारीपूर्वक काम गर्नुपर्ने बताए । योजना छनोट गर्दा वडा तहका जनप्रतिनिधिहरूको सहभागितामा सबै जनताको उपस्थितिमा आवश्यक कामलाई प्राथमिकता राखेर योजना छनोट गर्नुपर्ने समेत बताए । बैतडी जिल्लामा थुप्रै समस्या भएको बताउँदै मुख्यमन्त्री शाहले प्राथमिकताका आधारमा योजनाहरू क्रमशः पुरा गरिने बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा प्रदेशसभा सदस्य शिवराज भट्ट , विक्रमसिंह धामी , प्रदेश योजना आयोगका उपाध्यक्ष मोहन बिष्ट , बैतडीका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले आफ्नो कार्यालयमा भएका समस्या , जनशक्तिको अभाव , आगामी दिनहरूमा गर्नुपर्ने काम लगायत विभिन्न विषयमा मुख्यमन्त्री समक्ष आ-आफ्नो भनाइ राखेका थिए ।
