Skin_Hospital_Dhn

भीमदत्तका निजी तथा संस्थागत विद्यालयले शुल्क तथा पाठ्यपुस्तक वृद्धि गर्न नपाउने

कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले नयाँ शैक्षिक सत्रमा निजी तथा संस्थागत विद्यालयले आफूखुसी शुल्क वृद्धि र पाठ्यपुस्तक वृद्धि गर्न नपाउने निर्णय गरेको छ  । विगतका वर्षमा भइरहेको आफूखुसी शुल्क वृद्धि गर्ने प्रवृत्ति रोक्न स्थानीय तहले उक्त निर्णय गरेको हो ।

‘बर्सेनि पाठ्यपुस्तक परिवर्तन र शुल्क वृद्धिले अभिभावक मारमा परेका थिए,’ भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले भने, ‘निजी तथा संस्थागत विद्यालयको मनमानी रोक्न यो निर्णय गरिएको हो ।’

भीमदत्त नगरपालिकाले गत वर्षभन्दा शुल्क वृद्धि गर्न नपाउने र पाठ्यपुस्तक पनि परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । यदि शुल्क बढाउन पर्ने र पाठ्यपुस्तक परिवर्तन गर्न पर्ने भए नगरपालिकाबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ ।

शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तनबारे नगरपालिकाले गरेको दोधारे निर्णयले फेरि पनि निजी विद्यालयहरूलाई छुट दिएको अभिभावकहरू बताउँछन् । निजी विद्यालयलाई नियन्त्रण गरेजस्तो देखाए पनि शुल्क वृद्धि गर्ने विषयमा भने छुट दिन खोजेको अभिभावकहरूको आशंका छ । ‘यो त अनुमति लिएर शुल्क बढाउन, पाठ्यपुस्तक पनि परिवर्तन गर भन्ने भयो,’ भीमदत्त नगरपालिकाका अभिभावक राम बोहराले भने, ‘फेरि पनि विभिन्न वहानामा शुल्क वृद्धि हुन सक्छ ।’ भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख जोशीका अनुसार यस वर्ष कक्षा ५, ८ र १० को पाठ्यपुस्तक परिवर्तन हुने छ । त्यसबाहेकको पाठ्यपुस्तक परिवर्तन गर्न पाइने छैन । पाठ्यपुस्तकमा कुनै त्रुटि देखिए परिवर्तन गर्न सकिनेछ ।

यसैगरी गत वर्षकै शुल्कमा शिक्षकदेखि अन्य खर्च पूरा नहुने अवस्था आएमा नगरपालिकाकै स्वीकृतिमा वृद्धि गर्न सकिनेछ । यसैगरी शुक्लाफाँटा नगरपालिकाले पनि निजी तथा संस्थागत विद्यालयले भर्ना तथा शैक्षिक शुल्क वृद्धि गर्न नपाउने निर्णय गरेको छ । संस्थागत विद्यालयका प्रधानाध्यापकसंग छलफलपछि शुक्लाफाँटाले शुल्क वृद्धि र प्रकाशन परिवर्तन गर्न नपाउने निर्णय गरेको हो ।

सम्बन्धित
Loading...