Skin_Hospital_Dhn

विश्वको युवा जनसंख्याको १७.५ प्रतिशतमा बाँझोपन : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को एक अध्ययनले विश्वमा प्रत्येक छ जनामध्ये एक व्यक्तिमा बाँझोपनाको समस्या देखाएको छ।

विश्वको युवा जनसंख्याको १७.५ प्रतिशत अर्थात प्रत्येक ६ जनामध्ये एक व्यक्तिले जीवनको कुनै समयमा यो समस्या भोग्नुपरेको डब्लुएचओले सार्वजनिक गरेको ९८ पृष्ठ लामो प्रतिवेदनको निष्कर्ष छ । डब्लुएचओले एक दशकभन्दा लामो समयपछि बाँझोपनाबारे अनुमानित तथ्यांक सार्वजनिक गरेको हो । सन् १९९० देखि सन् २०२१ को अवधिमा विश्वका विभिन्न क्षेत्रलाई आधार मानी १०० भन्दा बढी अध्ययनमा आधारित भएर बाँझोपनाबारे नयाँ अध्ययन भएको हो ।

अध्ययन अनुसार बाँझोपनाको दर तुलनात्मक रूपमा मध्य र कम आय भएका मुलुकमा बढी पाएको छ । यद्यपि, यो विश्वभर हरेक देश, क्षेत्र तथा समुदायमै गम्भीर स्वास्थ्य चुनौती बनेको बताइएको छ । उच्च आय भएका मुलुकमा १७.८ प्रतिशत र मध्य तथा कम आय भएका मुलुकका १६.५ प्रतिशत मानिसले जीवनभर बाँझोपनाको समस्या भोग्नुपरेको तथ्यांक पनि डब्लुएचओले प्रस्तुत गरेको छ ।

यसले विश्वभरकै जनस्वास्थ्य समस्या र बाँझोपनाको परिणामलाई देखाएको डब्लुएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रिएससले बताएका छन् । यसको रोकथाम, निदान र उपचारमा ध्यान दिनुपर्नेमा उनको जोड छ । “बाँझोपनाले कसैलाई भेदभाव गर्दैन भन्ने महत्त्वपूर्ण सत्यलाई यस प्रतिवेदनले उजागर गरिदिएको छ,” टेड्रोस भन्छन्, “बाँझोपनाले प्रभावित अधिकांश मानिसको पहुँचमा प्रजनन उपचारलाई बिस्तार गर्न जरुरी छ । सन्तान सुख चाहने सबैलाई सुरक्षित, प्रभावकारी र पहुँच पुर्‍याउन प्रजनन हेरचाहको सेवा विस्तारको विषय स्वास्थ्य अनुसन्धान र नीतिगत तह अब ओझेलमा पर्नुहुँदैन।”

बाँझोपना पुरुष र महिलाको प्रजनन प्रणालीमा आउने समस्या हो । विशेष गरी १२ महिनाभन्दा बढी समयसम्म गर्भ नरहने वा निरन्तर रूपमा असुरक्षित यौन सम्पर्क राखे यो समस्या देखिने गरेको प्रतिवेदनमा उल्लेख छ । बाँझोपनाका कारण तनाव, सामाजिक कलंक र आर्थिक कठिनाइ बढाउने तथा मानसिक र मनोसामाजिक सन्तुलनमा प्रभाव पर्नेसमेत बताइएको छ ।

बाँझोपनाको यकिन कारण नभएकाले यो जटिल समस्या पनि हो जुन समस्या महिला पुरुष दुवैले अनुभव गर्छन् । वास्तवमा भन्ने हो भने विश्वका हरेक धर्म र क्षेत्रका मानिसमा प्रजनन हेरचाहको खाँचो छ । सन्तान जन्माउने मानिसको आधारभूत चाहना परिपूर्ति गर्न उचित यौन र प्रजनन स्वास्थ्यसम्बन्धी सेवा आवश्यक पर्छ तर अधिकांश देशमा यो सेवा पर्याप्त नभएको टेड्रोसको भनाइ छ ।

समस्याका चाङसँगै यसको रोकथाम र समाधानका केही उपाय पनि हामीमाझ उपलब्ध छन् । जस्तै, प्रजनन प्रविधि (आइभीएफ) तर महँगो, थारै मानिसको पहुँचमा भएको र सामाजिक कंलक जोडिनेजस्ता समस्याका कारण यसमा वित्तीय सहयोग प्राप्त नभएको र अधिकांशको पहुँचमा पुग्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

अधिकांश मुलुकमा प्रजनन उपचार निजी पहलमा खुलेको र महँगो भएको पनि बताइएको छ। साथै, धनी देशको तुलनामा गरीब मुलुकका नागरिकले प्रजनन हेरचाहमा खर्च गरेको पनि प्रतिवेदनले देखाएको छ । महँगोको भएकै कारण अधिकांश प्रजनन उपचारबाटै वञ्चित हुनुपरेको र सेवा लिन चाहेमा थप गरिबी भोग्नुपर्ने पनि हुनसक्ने बताइएको छ ।

वित्तीय सहयोग र राम्रा नीति ल्याए प्रजनन उपचारको दायरा फराकिलो बनाउन सकिने र मानिसलाई गरिबीको चपेटामा पर्न नदिन सहयोगी बन्ने डब्लुएचओकी यौन तथा प्रजनन स्वास्थ्य अनुसन्धानकी निर्देशक डा. पास्केल अलोटी बताउँछिन् ।

डब्लुएचओको नयाँ प्रतिवेदनले विश्वमा विद्यमान बाँझोपनाबारेको केही विश्वसनीय प्रमाणसमेत प्रकाश पारेको छ । साथै, अधिकांश देश र क्षेत्रमा यससम्बन्धी तथ्यांकको कमीलाई पनि देखाइदिएको गार्डियनले उल्लेख गरेको छ। कसलाई प्रजनन हेरचाह आवश्यक छ र यसका जोखिम कम गर्ने उपाय के हुन् भन्नेतर्फ पनि ध्यान दिन जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित
Loading...