
धनगढी ।
मृगौलाको शल्यक्रिया गर्नुपर्ने बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । सेती प्रादेशिक अपतालमा पहिलो पटक दूरबिन प्रविधिबाट पत्थरीका कारण बिग्रेको मृगौला निकाल्ने शल्यक्रिया गरिएपछि बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको हो ।
कैलालीको कैलारी गाउँपालिकाकी ४९ वर्षीया एक महिलाको बुधवार शरीरमा सानो प्वाल पारेर पत्थरीका कारण खराव भएको मृगौला निकालिएको हो । अस्पतालका सर्जरी विभाग प्रमुख डाक्टर सुरेन्द्र बस्नेतका अनुसार अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक नेफ्रोक्टोमी गरिएको हो ।


सेती अस्पतालका सर्जरी विभाग प्रमुख डाक्टर सुरेन्द्र बस्नेत नेतृत्वको टिमले पत्थरीका कारण बायाँ मृगौला काम नलाग्ने भएको अवस्थामा दूरबिन विधिबाट पहिलो पटक सेतीमा सफल शल्यक्रिया भएको बताए । बुधवार शल्यक्रिया गरिएकोमा आज (शुक्रवार) बिरामीलाई डिस्चार्ज गरिने डाक्टर बस्नेतले बताए ।
काठमाडौंको वीर अपतालबाट एमसिएच युरोलीजी गरेका डाक्टर बस्नेतसँगै डाक्टर जोनस तिवारी, डाक्टर कपिल गौतम, डाक्टर दिपेशद श्रेष्ठ, क्षितिज विक्रम र नर्सिङमा सनिता कोइराला, कविता बोहरा, लक्ष्मी उपाध्याय, जनाकी पाण्डे, लालु डगौरा र रमैया चौधरीको समुह पनि संलग्न रहेको थियो ।
दूरबिन विधि अर्थात ल्यापरोस्कोपिक सर्जरी गर्दा रगत कम बग्ने हुँदा बिरामीलाई रगत चढाउनु नपर्ने, बिरामीलाई दुखाई कम हुने र छिट्टै हिड्डुल गर्न सक्ने, शरीरमा दाग नहुने, संक्रमणको जोखिम कम हुने र अस्पतालबाट दुई दिनमै घर जान मिल्ने डाक्टर बस्नेतले बताएका छन् ।
