
कञ्चनपुर ।
स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर कञ्चनपुरको भीमदत्त नगरपालिकाले आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याएको छ । विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषयवस्तु समावेश गरेर १, २ र ६ कक्षाको पाठ्यपुस्तक प्रकाशन गरेर नगरपालिकाले कार्यान्वयनमा ल्याएको हो ।
संघीय सरकारबाट स्वीकृत पाठ्यक्रमअनुसार नगरपालिकाले पाठ्यक्रम बनाई यसै शैक्षिक सत्रदेखि १ देखि ८ कक्षासम्म पढाइ हुने गरी पाठ्यपुस्तक लागू गरेको भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले बताए ।

“यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक सम्पदा र यहाँको संस्कृति पर्वको बारेमा पुस्तकमा समेटिएको छ,” उनले भने, “यसले यहाँको पर्यटन विकास र संस्कृति संरक्षणमा टेवा पुग्ने छ ।” नगरपालिकाले यसै शैक्षिक सत्रदेखि सामुदायिक तथा संस्थागत विद्यालय पाठ्यपुस्तक लागू गर्न लागेको हो ।

नगरपालिकाले प्रकाशनमा ल्याएको १, २ र ६ कक्षाको पाठ्यपुस्तकमा यस क्षेत्रका पर्यटकीयस्थल, धार्मिक सम्पदा र परम्परागत पर्वको विषय समावेश गरिएको छ । पाठ्यपुस्तकमा यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधाराचाँदनी झोलुङ्गे पुल, विष्णुधाम लगायत यहाँका ऐतिहासिक क्षेत्र समेटिएका छन् । त्यसैगरी यहाँका मौलिक पर्वको बारेमा समेत विषयवस्तु राखिएको छ ।
नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ । सोअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा आफैंले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।
प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मीतवनधुले स्थानीय सरकारले आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउनु प्रशंसनीय भएको बताए । “स्थानीय पाठ्यपुस्तकमा समेटिएका स्थानीयस्तरका भाषा, संस्कृति, कला र सम्पदाबारे विद्यार्थी परिचित हुन्छन्,” उनले भने, “यसले विद्यार्थीमा आफ्नो समाजप्रति जिम्मेवारी बोध हुन्छ ।” उनले यस्ता पाठ्यपुस्तकले विद्यार्थीमा अपनत्वको विकास हुने बताए ।
भीमदत्त नगरपालिकामा सामुदायिक र संस्थागत गरी १२७ विद्यालय छन् । जसमध्ये १ देखि ८ कक्षासम्म अध्ययन गर्ने संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीको संख्या २५ हजार रहेको नगरपालिकाको शिक्षा शाखाले जनकारी दिएको छ ।
