Skin_Hospital_Dhn

महिलालाई बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिन विशेषज्ञसहितको टोली परिचालन

कञ्चनपुर ।
कञ्चनपुरमा महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिनका लागि विशेषज्ञसहितको टोली परिचालन भएको छ ।

जिल्लाको बेलौरी नगरपालिका–८ पचुँइमा महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट विशेषज्ञसहितको टोली परिचालन भएको हो ।

निकुञ्जका डा. दिनेश देवकोटासहितको पाँच जनाको टोली बाघलाई डार्ट(बेहोस) गर्नका लागि परिचालन भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोलीसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सवडिभिजन वन कार्यालय कुण्डाको वन सुरक्षाकर्मीको टोली बाघ नियन्त्रण गर्नका लागि हिजो (शुक्रबार) देखि नै परिचालन भएको छ ।

“शुक्रबारनै बाघलाई नियन्त्रणमा लिनका लागि धेरै प्रयास गर्‍यौँ, राति भइसकेकाले डार्टन गर्न सकिएन”, सवडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले भने, “अग्लो घाँस हुँदा बाघलाई नियन्त्रणमा लिन गाह्रो भएको छ”, दुई दुई मिटरको दूरीमा घेरा हालेर बाघलाई नियन्त्रणमा लिने प्रयास गर्दा पनि सफल हुन नसकेको उनले बताए । उनका अनुसार बाघ अहिले पनि सोही क्षेत्रमा देखिए पनि बेपत्ता महिला भने फेला पर्न सकेकी छैनन् । बाघ नियन्त्रण गर्नका लागि पुनः टोली केही छिनमै परिचालन हुन लागेको प्रमुख यादवले जानकारी दिए ।

शुक्रबार बिहान ९ बजे खेतमा घाँस काट्दै गरेकी स्थानीय अन्दाजी ४५ वर्षीया गङ्गादेवी चन्दलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको थियो । बाघले महिलालाई आक्रमण गरी लगेपछि खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी तीव्र बनाए पनि महिलालाई अझै पनि फेला पार्न सकेका छैनन् ।

बाघले महिलालाई आक्रमण गरी बेपत्ता बनाए पछि यस क्षेत्रको जनजीवन त्रसित भएको छ ।

सम्बन्धित
Loading...