
दार्चुला ।
दार्चुलामा तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव फेला परेको छ ।

व्याँस गाउँपालिका—२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्यास गाउँपालिका–२ तल्लो दुम्लिङस्थित महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएका भण्डारीको शव भारततर्फ मन्ती भन्ने स्थानमा महाकाली नदी छेउमा फेला परेको हो ।
भण्डारीको शवलाई नेपाल तर्फ ल्याइसकेको सिंहले बताए ।
