
दार्चुला ।
प्रदेश सभा सदस्य विक्रम सिंह धामीले राजनीतिज्ञ र कर्मचारीले आफ्ना अवगुण घटाए देश विकासमा अघि बढ्ने बताएका छन् ।
प्रदेशमा योजना छनौट गर्दा वा बजेट विनियोजन गर्दा नेताहरूले कार्यकर्ता तथा आफ्ना मान्छे छान्नु र कर्मचारीले अभाव या प्रलोभनमा परि काम गरेकै कारण प्रदेशको विकास निर्माणको काममा ढिलासुस्ती र अनियमितता भएको बताए ।


दार्चुला जिल्ला स्थित स्थानीय तह जनप्रतिनिधि, कार्यालय प्रमुख र राजनीतिक दलहरू सङ्ग अन्तरक्रिया कार्यक्रम मा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सुदूरपश्चिममा सम्पूर्ण जनतालाई सहभागिता गराएर योजना छनौट गरे मात्र विकास सम्भव हुने बताएका छन् ।
“अब बजेट खल्ती बाट होइन जनताको चाहना बमोजिम हुनुपर्छ, कमिसनका आधार पारित हुने योजना शून्यमा झार्नु पर्छ अनि मात्र हामीले सोचेको सुदूरपश्चिम बन्छ, म कुनै एउटा दलको सांसद होइन म सबै जनताको सेवक हु र मैले आफ्नो दलको लागि जितेको होइन, सबै राजनीतिक दलका व्यक्ति सङ्ग मिलेर काम गर्नुपर्छ भन्ने बुझे छिटो छरितो विकास गर्न सकिन्छ ।” उनले भने।
उनले नेताहरूले आफ्नो जित सबैका लागि हो भन्ने सोचेर मिलेर काम गरेमा सुदूरपश्चिमलाई समृद्धिको गतिमा अधि बढ्न कसैले रोक्न नसक्ने समेत बताएका छन् ।
