
धनगढी ।
कैलालीमा आज (आइतवार) देखि स्थानीय तह स्तरीय मेयर कप फुटबल हुने भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकामा स्थानीय तह स्तरीय महिला तथा पुरुष मेयर कप फुटबल हुने भएको हो ।
वैशाख १० गते देखि १७ गतेसम्म संचालन हुने महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले बताएको छ ।

“युवाहरुमा अनुशासन, लागु औषध दुव्र्यसन न्युनिकरण र सामाजिक सद्भावका लागि खेलकुद प्रोत्साहन” भन्ने नाराका साथ गौरीगंगा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक समितिका संयोजक तथा नगर कार्यपालिकाका प्रवक्ता बिष्णु प्रसाद भाटले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य दिर्घ बहादुर सोडारीले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।
उद्घाटन खेलमा आयोजक गौरीगंगा नगरपालिका र भजनी नगरपालिका भिड्नेछन् । गौरीगंगा नगरपालिका ८ को खेल मैदान संचालन हुने प्रतियोगितामा पुरुषतर्फ कैलालीका ८ स्थानीय तहका टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेतालाई दुबै बिधामा ट्रफी सहित नगद १ लाख र उपविजेतालाई ट्रफी सहित नगद ५० हजार पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रुपमा ट्रफी सहित नगद ५ हजार पुरस्कार दिइने छ ।
