
काठमाडौं ।
एसीसी प्रिमियर कपमा नेपालले साउदी अरबसंग अंक बाँडेको छ । अविरल वर्षाको कारण नेपालले साउदी अरबसंग अंक बाँडेको हो ।
समूह ए मा रहेका नेपाल र साउदीले माथिल्लो मूलपानी मैदानमा आआफ्नो तेस्रो खेल खेल्ने तय थियो । तर, वर्षा नरोकिएपछि खेल हुन सकेन ।

साढे १० बजे पानी रोकिएपछि मूलपानी क्रिकेट मैदानमा ढाकिएको पिचको कभर हटाइएको थियो । यता, आउट फिल्ड सुपर सापरले सुकाइएको थियो । तर, साढे ११ बजेपछि पुनः पानी पर्न थालेपछि पिच कभरले ढाकिएको थियो ।

खेलका लागि नियमित समय अनुसार टस ८ः ३० मा हुनुपर्ने हो । र, खेल ९ बजेबाट शुरू हुनुपर्ने थियो । तर, वर्षाको कारण टस नै हुन सकेन । खेल रद्द हुने भएपछि नेपाली टोलीका सम्पूर्ण खेलाडी मैदानमा उपस्थित दर्शकसँग फोटो खिचेर बाहिरिएका थिए ।
समूह ए मा नेपालले लगातार दुई खेल जितेको थियोे । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो ।
यता, साउदीले पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियोे । दोस्रो खेलमा साउदीले कतारलाई ७ विकेटले पराजित गरेको थियोे ।
शीर्ष स्थानमा रहेको नेपालको ३ खेलबाट ५ अंक रहेको छ । साउदी ३ अंकसहित तेस्रो स्थानमा छ। नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपालले अन्तिम खेल बिहीबार कतारसँग खेल्ने छ।
