Skin_Hospital_Dhn

मुक्त कमैया समाजले न्यायिक पुनर्स्थापनाका लागि अधिकार यात्रा गर्ने

धनगढी ।
मुक्त कमैया समाजले मुक्त कमैया, बुक्रही र कम्लहरीको न्यायिक पुनर्स्थापनाका लागि अधिकार यात्रा कार्यक्रम गर्ने भएको छ । मुक्त कमैया समाजले कमैया मुक्ति भएको लामो समय बित्दा पनि पुनः स्थापना हुन नसकेको भन्दै कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा भोलि (बिहीबार)देखि अधिकार यात्रा गर्न लागेको हो ।

टीकापुरबाट र कञ्चनपुरले भिमदत्त नगरपालिकाबाट यात्रा सुरु गरी कैलालीको गोदावरीमा भेला गरी नयाँ कार्यसमिति गठन गर्ने मुक्त कमैया समाज कैलालीले जानकारी दिएको छ ।

आज (बुधवार) धनगढीमा पत्रकार सम्मेलन गरी समाजले अधिकार यात्राका बारेमा जानकारी गराएको छ । सरकारले कमैया र कम्लहरी पहिचान गर्दा पहिचान प्रक्रिया गलत हुँदा धेरै कमैया छुटेका समाजले जनाएको छ ।

सरकारको तथ्याङ्क अनुसार कैलालीमा तीन सय ८० जनाले जग्गा प्राप्त गर्न नसकेको र कञ्चनपुरमा एक जना पनि नछुटेको देखिएको छ । तर, समाजले कैलालीमा नौ सय ५३ र कञ्चनपुरका एक सय २९ जना मुक्त कमैयाको पुनर्स्थापना बाँकी रहेको समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले जानकारी दिए ।

सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । यस्तै २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । सुदूरपश्चिममा १२ हजार ९ सय २४ मुक्त कमैया परिवार पुनर्स्थापित भएका मुक्त कमैया समाजले जानकारी दिएको छ ।

भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ८ कमलरीको तथ्याङ्क सङ्कलन गरेकोमा १ हजार १ सय ५८ जनाले परिचय पत्र पाएका थिए । मुक्त कम्लहरी मञ्चले अझै सुदूरपश्चिममा १ हजार ७ सय ३५ छुटेको बताएको छ ।

समाजले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको मुत्तकमैया, कम्लहरी, हलिया र हरवाचरवा बस्तु स्थिति अध्ययन समितिको प्रतिवेदनका आधारमा निर्माण गरिएको कमैया श्रमिक पुनः स्थापना कार्यविधि २०७९ लाई सरकारले मन्त्रिपरिषदबाट पास गरी सो कार्यविधि बमोजिम पुनर्स्थापना कार्य गर्नुपर्ने माग अगाडी सारेको छ ।

सङ्घीय सरकारले २०७६ जेठमा कमैया तथा कमलरीको पुनर्स्थापना कार्यलाई स्थानीय तहमा हस्तान्तरण गरेको हुँदा स्थानीय तहले आफ्ना पालिकामा कमैया पुनर्स्थापना कार्यविधि निर्माण गर्नुपर्ने माग गरेका छन् । समाजले दबाब सोरुप कैलाली र कञ्चनपुरमा साइकल यात्रा निकाल्ने जनाएको छ ।

शुक्रवार देखि कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा साइकल यात्रा निकाल्ने मुक्त कमैया समाज कैलालीका अध्यक्ष भरत चौधरीले बताए ।

सम्बन्धित
Loading...