Skin_Hospital_Dhn

आईपीएल : कोलकाता नाइट राइडर्ससंग रोयल च्यालेन्जर्स बेंगलोर २१ रनले पराजित

काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्ससंग रोयल च्यालेन्जर्स बेंगलोर २१ रनले पराजित भएको छ ।

हिजो (बुधबार) बैंगलोरको चिन्नास्वामी रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा पाँच विकेट गुमाएर २०० रन बनाएको थियो । जेसन रोयले २९ बल खेल्दै चार चौका र पाँच छक्काको मद्दतमा ५६ रन बनाए ।

सोही क्रममा कप्तान नितिश राणाले २१ बलमा तीन चौका र चार छक्काको मद्दतमा ४८ रनको इनिङ खेले । जवाफमा बैंग्लोरको टोलीले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन मात्रै बनाउन सक्यो । कप्तान विराट कोहलीले ३७ बलमा ६ चौकाको मद्दतमा ५४ रनको इनिङ खेले ।

२०१ रनको लक्ष्य पछ्याएको बैंगलोरको टोलीले इम्प्याक्ट प्लेयर फाफ डुप्लेसिस र कप्तान विराट कोहलीले उत्कृष्ट सुरुवात गरेका थिए । दुवैले दुई ओभरमा ३० रन जोडेका थिए । त्यसपछि तेस्रो ओभरमा लेग स्पिनर सुयश शर्मा बलिङ गर्न आए र डुप्लेसिसको विकेट लिए । उनले सात बलमा एक चौका र दुई छक्का प्रहार गर्दै १७ रन बनाउन सके ।

त्यसपछि सुयशले शाहबाज अहमदलाई एलबीडब्ल्यू आउट गरे । वरुण चक्रवर्तीले ग्लेन म्याक्सवेललाई आफ्नो शिकार बनाए । उनले पाँच रन बनाउन सके । त्यसपछि कोहली र महिपाल लोमरले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे । लोमरोरको रन रेट बढाउने चक्करमा उनलाई वरुणको बलमा रसेलले क्याच गरेका थिए । उनले १८ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ३४ रन बनाउन सके ।

यसैबीच कोहलीले सिजनको पाँचौं अर्धशतक बनाए । उनले ३३ बलमा अर्धशतक पूरा गरे । कोहलीको आईपीएल करियरको यो ४९ औं अर्धशतक हो । कोहली पनि भेंकटेशको बलमा रसेलको हातमा क्याच आउट भए । उनले ३७ बलमा ६ चौकाको मद्दतले ५४ रन बनाउन सके ।

दिनेश कार्तिक १८ बलमा २२ रन बनाएर वरुणको शिकार बने । सुयश प्रभुदेसाई १० रन र भानिन्दु हसरंगा ५ रनमा आउट भए । डेभिड विलीले ११ रन बनाएर अविजित रहे भने विजयकुमार वैशाकले १३ रन बनाए । कोलकाताका वरुणले तीन विकेट लिए । यही प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याचको अवार्ड दिइएको थियो । यस्तै सुयश शर्मा र आन्द्रे रसेलले समान २–२ विकेट लिए ।

बैंगलोर र कोलकाता टोली अहिलेसम्म ३२ पटक आमनेसामने भएका छन् । कोलकाताले सधैं यसमा आफ्नो दबदबा राखेको छ । केकेआरले १८ खेल जितेको छ भने बैंगलोरले १४ खेल जितेको छ । योसँगै दुवै टोली बेंगलुरुको चिन्नास्वामी स्टेडियममा १२ पटक आमनेसामने भएका छन् । जसमध्ये कोलकाताले आठ र बैंगलोरले चार जित हात पारेको छ । यी दुईबीचको पछिल्लो ६ खेलमा केकेआरले चार र बैंगलोरले दुईमा जित निकालेको छ ।

६ अंक जोडेको टोली अंक तालिकाको सातौं स्थानमा छ । यस्तै बैंगलोरको टोली आठ खेलमा चार जित र चार हारसहित अंक तालिकाको पाँचौं स्थानमा छ ।

सम्बन्धित
Loading...