
कैलाली । कैलालीको धनगढीमा अटिजम सचेतना, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल धनगढीले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा कैलालीमा रहेका सक्रिय पत्रकारहरू,अटिजम भएका बालबालिकाहरू र अपाङ्गता भएका बालबालिकाहरू सँग सरोकार राख्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरू सित अटिजम सचेतना, छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय उप प्राध्यापक डा। यज्ञ राज पाण्डेले अटिजम अर्थात् अटिजम स्पेक्ट्रम डिसअडरको परिचय ,लक्षणहरू र अटिजम पहिचानका आधार बारे प्रकाश पारेका थिए । उनका अनुसार अटिजम भनेको मौखिक र गैर—मौखिक सञ्चार र सामाजिक अन्तरक्रियालाई महत्त्वपूर्ण रूपमा असर गर्ने विकासात्मक असक्षमता हो, सामान्यतया तिन वर्षको उमेर देखी स्पष्ट हुन्छ, जसले बच्चाको शैक्षिक प्रदर्शनलाई प्रतिकुल असर गर्छ । सामान्यतया अष्टिज्म भनेको सामाजिक सञ्चार र अन्तरक्रियामा निरन्तर हुने कमी र व्यक्तिको प्रतिबन्धित र दोहोरिने व्यवहार, रुचि र क्रियाकलाप भएको बताए ।

डा. पाण्डेले हालसम्म सार्वजनिक गरिएको विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा ३५२ जना बालबालिकामा अटिजमको समस्या देखिएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको सबैभन्दा धेरै कैलालीमा ७१ जना पुरुष र ८१ जना महिला गरी कुल १५२ जना बालबालिकामा अटिजमको समस्या देखिएका छ भने अछाममा १० जना पुरुष र १९ जना महिला गरी कुल २९, डोटीमा ७ जना पुरुष र २० जना महिला गरी कुल २७, डडेल्धुरामा १० जना पुरुष र १० जना महिला गरी कुल २०, बैतडीमा १४ जना पुरुष र १५ जना महिला गरी कुल २९, दार्चुलामा ४ जना पुरुष र ३ जना महिला गरी कुल ७, बझाङमा ९ जना पुरुष र १६ जना महिला गरी कुल २५, बाजुरामा ५ जना पुरुष र १३ जना महिला गरी कुल १८ र कञ्चनपुरमा २३ जना पुरुष र २२ जना महिला गरी कुल ४५ जना बालबालिकामा अटिजमको समस्या देखिएको हो ।
“मस्तिष्कका स्नायु कोषहरूमा कमजोरी अटिजम हुन्छ भनिएको छ तर के कारणले मस्तिष्कका स्नायु कोषहरूमा विचलन हुन्छ स्पष्ट बुझ्न सकिएको छैन ।” उनले भने ।, डा पाण्डेका अनुसार अटिजमका लक्षणहरूमा बालबालिकामा असान्दर्भिक हँसाइ तथा रुवाइ हुने ,आँखामा आँखा जुधाउन नसक्ने आफ्ना उमेरका बिलबालिकाहरुसंग खेल्न नरुचाउने,घाउ चोट तथा दुखाइप्रति वास्ता नगर्ने,एक्लै बस्न रुचाउने तथा सामाजिकीकरण नहुने,सामानहरू घुमाइरहने तथा सामानहरूप्रति अनौठो लगाव,बिना कारण चिन्तित हुने, रुने कराउने,कहिलेकाहीँ अरूले छोएको तथा अँगालो हालेको मन नपराउने क्रियाकलाप देखिने गर्छन् ।
राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालले अटिजम भएका बालबालिकाको लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा सरोकार निकाय र विभिन्न दातृ सङ्घसंस्था र राज्य सङ्ग मिलेर सहकार्य गर्ने बताउँदै ,अटिजम भएका बालबालिका प्रतिको बुझाई स्पष्ट पारेर पैरवी गर्ने उद्देश्यका साथ कैलालीका सक्रिय पत्रकारहरू, अटिजम भएका बालबालिकाहरू र अपाङ्गता भएका बालबालिकाहरू सँग सरोकार राख्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरू सित अन्तरक्रिया गरेको राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालका अध्यक्ष रमेश बस्नेतले बताए ।
समाजमा रहेका कठिनाइ तथा यस्ता जटिल खालका समस्याहरू उजागर गरी स्पष्ट पार्दै जनचेतना फैलाउने काममा पत्रकारहरू प्रतिबद्ध रहेको पत्रकार नेपाल महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए ।
दुनियाँमा अटिजमले कति मानिसलाई असर गरेको छ भन्ने सम्बन्धमा फरक फरक अध्ययनका ठम्याइ केही मात्रामा फरक देखिन्छ । विश्व स्वास्थ्य संस्था (डब्लु एच ओ) का अनुसार विश्वमा १ प्रतिशतमा अटिजमको समस्या छ भने रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्रहरू ९सिडीसी० को प्रतिवेदनमा प्रति ३६ जना मध्ये एक जनामा अटिजम हुने बताइएको छ ।
