Skin_Hospital_Dhn

हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै

हिउँदको समयमा बाजुराका हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा व्यवसायी चिसो छल्न परिवारसहित बेंसी झर्ने गरेका छन् । व्यावसायिक रुपमा भेडापालन गरिरहेका भेडा व्यवसायी चिसो मौसम सुरु हुन लागेदेखि छिमेकी जिल्लाका विभिन्न फाँटमा बसाइ सर्ने गरेका हुन् ।

अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो छल्न डोटी पुगेका बूढीनन्दा नगरपालिका–९ बाजुराका चन्द्र बोगटी बताउछन् आफ्नो रोजगारी र आयआर्जनको स्रोत नै भेडापालन भएकाले हिउँदको समयमा चिसोबाट जोगाउन बेंसी सरेका हौ ।

बोगटीसँग हाल ७० भेडा रहेका छन् । बोगटीसहित तीन परिवार एक सातादेखि भेडासहित डोटीको दिपायल सिलगढी नगरपालिका–७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आएका छन् । उनीहरुले यहाँ फागुनसम्म बस्ने जानकारी दिए । चार वर्षदेखि यही स्थानमा बस्दै आएको उनीहरु बताउँछन् ।

सोही स्थानमा डेरा सरेर आएका भेडा व्यवसायी बूढीनन्दा–९ का शिवा गुरुङसँग भने छुट्टै अनुभव छ । उनी सुरुमा अरुको गोठालो भएर काम गर्थे । पछि उनी बिस्तारै आफैं व्यावसायिकरुपमा भेडापालन गर्दै आइरहेका छन् । उनी भन्छन्, “के गर्नु सुरुमा धेरै वर्ष अरुको गोठालो भइयो, जसको गोठालो भइयो उहाँहरुका अहिले कसैका काठमाडौं, कसैका धनगढी र नेपालगञ्ज घर छन्, आफ्नो भने उही जिन्दगी छ ।”

उनी अहिले उमेरले ४९ वर्षको भए । पाँच वर्षको हुँदादेखि नै अरुको भेडा हेर्ने काम सुरुआत गरेको उनी बताउँछन् । हाल उनीसँग एक सयभन्दा बढी भेडा छन् । उनी एक छोरा र श्रीमतीसहित आएका हुन् । उनी भेडाबाट वार्षिकरुपमा रु छ÷सात लाख आम्दानी हुने गरेको बताउँछन् ।

बाजुरा, हुम्ला, जुम्लाका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदका समयमा चिसो छल्न विभिन्न स्थानमा बसाइ सर्ने गरेका छन् । प्रतिभेडा रु १५ हजारदेखि ३५ हजारसम्म र राडीपाखी रु दुई हजारदेखि पाँच हजारसम्म बिक्री गर्दै आएको व्यवसायीहरु बताउँछन् ।

भेडा राखेबापत सामुदायिक वनलाई मासिकरुपमा रु छ/सात हजार रोयल्टी तिर्ने गरेकोसमेत उनीहरू बताउँछन् ।

सम्बन्धित
Loading...